भिमाद सञ्चार

तनहुँ २०७९ मंसिर १ बुधबार

अशोक बिश्वकर्मा

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन आउन दुई दिन मात्र बाँकी छ तर मतदाता शिक्षा प्रभावकारी नहुँदा मतदाता नै अन्योलमा छन् ।

निर्वाचन आयोगले मत बदरको संख्या कम गर्न भन्दै मतदाता शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि मात्रै रु ५० करोड बजेट छुट्याइएको छ । तर तनहुँका मतदाताहरूमा भने मतदान कसरी गर्ने ? भन्नेमा नै अन्योल पाइन्छ ।
तनहुँको दुलेगौँडा ईश्वरी सुनारसँग यो भन्दा अघि चार पटक मतदान गरेको अनुभव छ । तर यस पटकको निर्वाचनमा भने कसरी मतदान गर्ने भन्ने जानकारी नभएको उनको भनाइ छ ।
उनी भन्छिन्, “पहिला पहिला त भोट हालेकै हो तर यो पटक गाह्रो छ भन्छन्, कसरी पो हाल्ने होला” । गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर संख्या बढी देखिएको थियो । तर यस पटकको निर्वाचनमा पनि मतदाता शिक्षा कार्यक्रम खासै प्रभावकारी देखिँदैन । थपिएका नयाँ मतदाता त छदै छन्, पहिल्यै भोट हालिसकेका कतिपय मतदातासमेत आगामी निर्वाचनमा कसरी भोट हाल्ने भन्ने विषयमा अनभिज्ञ देखिएका हुन् । निर्वाचन कार्यालय तनहुँ आसन्न निर्वाचनका लागि महिला स्वयंसेविका परिचालन गरेको जनाएको छ तर ती स्वयंसेविका अहिलेसम्म अधिकांश मतदाताको घरसम्म पुगेका छैनन् ।
यता भिमाद नगरपालिका भागरका केही मतदाताहरुले भने पार्टीका नेता कार्यकर्ताहरुले मात्र मत दिन सिकाएको बताउँछन् । आफ्नो पार्टीमा भोट दिन सिकाउनेहरु मात्र छन् तर आफुले चाहेको ठाउँमा मत दिने बारे कसैले नसिकाएका सुभद्रा परियारले गुनासो गरिन् ।

जिल्लाकै शुक्लागण्डकी भिमाद लगायत स्थानमा गठबन्धन दलका नेता कार्यकर्ताहरु मतदातामा अलमल हुन सक्ने भन्दै मतदाता शिक्षा दिन गाउँ गाउँ पुगेका थिए । फरक फरक पार्टीका चुनाव चिन्हमा मत दिनुपर्ने भएकाले कार्यकर्ताहरु मार्फत नै मतदाता शिक्षा प्रदान गरिएको नेकपा माओबादी केन्द्र शुक्लागण्डकीका अध्यक्ष मनराज गुरुङ्गले जानकारी दिए ।