भिमाद सञ्चार
२०७९ मंसिर ८ तनहुँ

अशोक विश्वकर्मा

नेपाली संस्कृतीमा फुलको महत्व ब्यापक छ । जन्मदेखि मृत्यु पर्यन्त हुने फूल मालाको प्रयोग भने नेपाली समाजमा घट्दै जान थालेको पाईन्छ । स्वागतदेखि विजय उत्सव र चावपर्वमा अत्याधिक खपत हुने मालालाई आयातित खादाले विस्थापित गर्दै जान थालेको हो ।

तिहारपछि फूलको बजार ठप्प हुदाँ ब्यवसायिक रुपमा लगाइएको सयपत्री ओईलाएर झर्न थालेका छन् । तर भर्खर सम्पन्न चुनावमा निर्वाचित भएका जनप्रतिनिधीका गलाभने खादाले भरिएको देख्दा किसानहरु खुशीभन्दा बढी चिन्तित छन् ।
‘विजय र्‍यालीमा माला भन्दा खादाको प्रयोग बढी देख्दा किसानलाई खुशी लाग्दो रैनछ’ कृषक मञ्जु श्रेष्ठले भन्नुभयो ‘जनताको नेताहरुले बुझ्नु पर्ने हो ।’ श्रेष्ठले आफ्नो बारीमा लगाएको लगाएको लाखौँको फुल सुकेर जादाँ उपयोगमा ल्याउन नसकेर दुखि बनाएको बताउनुभयो । खादा भन्दा न्यून मुल्यका फुलका मालाको प्रयोग बढाउन सवैले ध्यान दिनुपर्ने उहाँको माग छ ।

यता भिमाद नगरपालिकाको भागरमा समेत ३ रोपनी क्षेत्रफलमा लगाएको सयपत्री फुल ओईलिएर जान थालेको छ । तिहारलाई लक्षित गरेर उत्पादन भएका फुल पूर्ण रुपमा नफक्रिएपछि राम्रो आम्दानी गर्न नसकेको तीन युवाले फूलको बजार नपाउदाँ समस्यामा परेको बताउँछन् । वैदेशिक रोजगारीबाट फर्किका विष्णु राना सहित सागर विक र अमृत कुमालले देशमा मेहनत गरेर समेत सन्तुष्टी नभएको बताउँछन् । ‘निर्वाचित जनप्रतिनिधीले देशमै कृषि गरेको युवाहरुलाई सम्वोधन गर्नुपर्छ ।’ विकले भन्नुभयो ‘किसानको यस्तै अवस्था रहे प्रदेशिनुको विकल्प हुदैन ।’

चुनाव पछिको विजयोत्वसमा समेत शुक्लागण्डकी र आसपासमा फुल उत्पादन गरेका किसानको फुलको माग नभएपछि यहाँको स्थानीय सरकारले चासो देखाएको छ । शुक्लागण्डकी नगरपालिकाले बुधबार एक सुचना नै जारी गरेर स्थानीय क्षेत्रमा उत्पादित फुलको प्रयोग बढाउन आग्रह गरेको छ । आयातित खादा वातावरण प्रतिकुल हुने भन्दै किसानको उत्पादनलाई उपयोग गर्न नगरपालिकाले आग्रह गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले स्थानीय किसानको अभिभावकत्व ग्रहण गर्न नगरपालिकाले चासो देखाएको जानकारी दिनुभयो ।
शुक्लागण्डकी नगरपालिकी श्रेष्ठ सहित भागरका तीन युवा र अरौदीका गोविन्द भट्टराईले पछिल्लो केही बर्षदेखि ब्यवसायिक रुपमा फूलखेति गरेपनि बजार नपाउँदा राम्रो आम्दानी लिन पाएका छैनन् ।