जनप्रतिनिधिले गरे प्रतिबद्धता पुरा, १३ सुकुम्बासिलाई लालपुर्जा वितरण

भिमाद सञ्चार

तनहुँ २०८० माघ १५ शोमबार

तनहुँको आबुखैरेनी गाउँपालिका कार्यालयले सुकुम्बासीलाई लालपूर्जा वितरण कार्य सुरु गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी तनहुँ क्षेत्र नं १ प्रदेश सभा ‘ख’ का सांसद एवं पूर्व प्रदेशमन्त्री हरि बहादुर चुमानले सुकुम्बासीहरुलाई लालपुर्जा हस्तान्तरण गरेका हुन । चुमानले पालिकाका अन्य वडाका भूमिहिनले पनि निकट भविष्यमा लालपूर्जा पाउने बताए ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जनता माझ भोट माग्दै आफुले चुनाव जिते सुकुम्बासीलाई लालपूर्जा बाँड्छु भनेर वाचा गरेका थिए । करिब दुई वर्षअघि स्थानीय तह निर्वाचनमा उम्मेद्वार हुँदा अध्यक्ष चुमानले नागरिक सामु गरेको वाचा पूरा गर्दै सुकुम्बासीलाई लालपूर्जा बाड्न सुरु गरेका हुन् । सोमबार गाउँपालिका प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि जिल्लामै पहिलो पटक आँबुखैरेनी गाउँपालिका–२ का १३ घर सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गरेको हो । गाउँपालिकाले राष्ट्रिय भूमि आयोग तनहुँको समन्वयमा सुकुम्बासीलाई लालपूर्जा वितरण गरिएको जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष चुमानले भूमिहिनलाई जग्गाको मालिक बनाउने अभियान सुरु भएको बताए । उनले भने, ‘हामीले चुनावका बेला नै लालपूर्जा वितरण गर्छौ भनेर जनतामाझ भनेका थियौ । त्यो प्रतिबद्धता अनुरुप पूर्जा वितरण कार्य सुरु भएको छ । हामी आश्वासन दिँदैनौ, काम गरेर देखाउँछौ,उनले भने ।’
चुमानले क्रमिक रुपमा अरु वडाहरुको प्रक्रिया पूरा भएपछि पूर्जा वितरण गरिने बताए । उनले भने, ‘वर्षौ भोगचलन गरेको जमिनको लालपुर्जा हात हातमा पुग्नु समृद्धिको आधार हो।’
आयोगको गत पुस २३ को निर्णय अनुसार भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।
सोही अवसरमा भूमिहिन सुकुम्वासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोवासी सेवा केन्द्रमा रही अहोरात्र खटी उल्लेखनीय भूमिका निर्वाह गरेका सूचना प्रविधि अधिकृत÷सेवा केन्द्र प्रमुख इन्जिनियर निरोज श्रेष्ठ, अमिन सरोज चन्द्र अधिकारी र अमिन सन्जित श्रेष्ठलाई सम्मान गरिएको थियो ।