भिमाद सञ्चार
तनहुँ २०८२ चैत्र १५
तनहुँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ ।
विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनु अगाडि ब्रिज कोर्षका नाममा भइरहेका कार्यक्रम रोक्न मन्त्रालयले निर्देशन दिएको हो ।

यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझ पर्ने मन्त्रालयले जनाएको छ ।
सूचनामा भनिएको छ, “विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी (Entrance Preparation) कक्षा एवम् ब्रिज कोर्सका नाममा विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका त्यस्ता कार्यक्रमहरू आगामी २०८३ साल वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्न यस मन्त्रालयको माननीय मन्त्रीस्तरबाट मिति २०८२/१२/१३ गते निर्णय भएकोले सोही अनुसार गर्नु गराउनुहुन सम्बन्धित सबैमा यो निर्देशन गरिएको छ। साथै, यस्ता कार्यक्रमहरू सञ्चालन भए नभएको अनुगमन गरी सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउनसमेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरिन्छ ।”









