भिमाद सञ्चार
तनहुँ २०८२ बैशाख ४
भिमाद ।पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–४ गल्छिनामा दुई मोटरसाईकल एकापसमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शुक्लागण्डकी–३ कवासेका करिव १९ वर्षका रोमन लम्साल रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक पोषण थापाले जानकारी दिए ।
दुलेगौंडाबाट खैरेनीटारतर्फ जाँदै गरेको लु १४ प २२४७ नंं. को पल्सर मोटरसाइकल र खैरेनीटारबाट दुलेगौंडा आउँदै गरेको लु प्र ०१००१ प ५६६८ नंं. को भीआर मोटरसाइकल एक आपसमा बुधवार साँझ ठक्कर खाएको हो ।
भीआर मोटरसाइकल चालक लम्सालको दुर्घटनापछि जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी पल्सर मोटरसाईकलका चालक शुनपा–४ का २० वर्षिय सुशान आले र सोहि ठाउँका १९ वर्षिय निश्चल गुरुङ घाइते भएका छन् । उनीहरुको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था गम्भिर रहेको छ ।
पृथ्वीराजमार्ग विस्तारसँगै गल्छिना क्षेत्रमा यसअघि पनि दुर्घटना भएका छन् ।









