भिमाद सञ्चार
तनहुँ २०८३ मंसिर ११
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भिमाद नगर कार्यसमितिले भिमाद नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना तथा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउन गृह मन्त्रालयसँग माग गरेको छ।

रास्वपा भिमाद नगर कार्यसमितिले गृह मन्त्रालयलाई पत्राचार गर्दै तनहुँको सदरमुकाम दमौलीमा जिल्ला प्रशासन कार्यालय रहे पनि निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका आँबुखैरेनी, घिरिङ, ऋषिङ, भिमाद तथा म्याग्दे गाउँपालिकाका वडा नं. ५ लगायतका क्षेत्रका नागरिकलाई सामान्य प्रशासनिक सेवा लिन भौगोलिक विकटताका कारण कठिनाइ भइरहेको जनाएको छ। उक्त क्षेत्रका नागरिकलाई सामान्य प्रशासनिक कामका लागि समेत लामो दूरी तय गर्नुपर्ने बाध्यता रहेको पत्रमा उल्लेख छ।
नागरिकलाई सहज, सरल र सुलभ रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले भिमाद नगरपालिकालाई केन्द्रबिन्दु बनाएर इलाका प्रशासन कार्यालय स्थापना तथा सञ्चालनका लागि पटक–पटक पहल र ज्ञापनपत्र बुझाउँदा पनि ठोस प्रगति हुन नसकेको रास्वपाले जनाएको छ। भौगोलिक सुगमता र नागरिकको प्रशासनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न आवश्यक प्रक्रिया तत्काल अघि बढाउन कार्यसमितिले आग्रह गरेको छ।









