भिमाद सञ्चार

तनहुँ २०८३ असोज २९
तनहुँ । नेपालीहरूको महान् पर्व विजयादशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लावासीलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित रूपमा चाडपर्व मनाउन आग्रह गरेको छ। प्रशासनले नेपालीहरूको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै परम्परा, मौलिक संस्कृति र धार्मिक सहिष्णुता कायम राखी प्रचलित कानुनको पालना गर्न सबैमा अनुरोध गरेको हो।
जिल्ला प्रशासन कार्यालयले चाडपर्वका बेला जुवातास खेल्ने, मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी चलाउने, सवारीसाधनमा बढी भाडा असुल्ने, कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गरी उपभोग्य वस्तुको मूल्यवृद्धि गर्ने कार्य नगर्न सचेत गराएको छ। त्यस्तै, चोरी, लुटपाट, अवाञ्छित गतिविधि तथा सामाजिक सञ्जालमार्फत फैलिने शंकास्पद गतिविधिबाट सतर्क रहन र पटका तथा आतसबाजी जस्ता जोखिमयुक्त विस्फोटक पदार्थको प्रयोग नगर्न पनि प्रशासनले आग्रह गरेको छ। यात्रुको सहजताका लागि आवश्यक स्थानमा यात्रु सहायता कक्षको व्यवस्था गरिएको जनाउँदै प्रशासनले व्यवसायीलाई व्यावसायिक मर्यादाभित्र रही वस्तु तथा सेवा उपलब्ध गराउन अनुरोध गरेको छ।


चाडपर्वका समयमा अत्यावश्यक वस्तु तथा सेवाको नियमित आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन, सार्वजनिक तथा निजी संस्थाले सुरक्षा प्रबन्ध मिलाउन र विद्युत्, खानेपानी, स्वास्थ्य तथा सञ्चारजस्ता सेवा निरन्तर सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ। सूचनामा उल्लेख गरिएका विपरीत गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिँदै त्यस्ता गतिविधिबारे जानकारी पाएमा नजिकको प्रहरी कार्यालय, प्रहरी नियन्त्रण कक्षको १०० नम्बर वा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३० नम्बरमा खबर गर्न अनुरोध गरिएको छ।