भिमाद सञ्चार
तनहुँ २०८३ कार्तिक १३
नेकपा एमालेमा लामो समयदेखि आबद्ध रहेर सक्रिय राजनीति गर्दै आएकी दिना गोतामेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी आफ्नो राजनीतिक आबद्धता अन्त्य गर्ने घोषणा गरेकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले आजैदेखि एमालेसँगको सम्पूर्ण सम्बन्ध समाप्त गरेको उल्लेख गरेकी छन्।
पार्टीमा रहँदा इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रयास गरेको बताउँदै गोतामेले आफ्नो कार्यकालमा कुनै गल्ती, कमजोरी वा अन्याय भएको भए आम नागरिक, शुभेच्छुक तथा सम्बन्धित सबैसँग हृदयदेखि क्षमायाचना गरेकी छन्। पार्टी छोड्ने निर्णय विगतको योगदान र सम्बन्धलाई अपमान गर्ने उद्देश्यले नभएको स्पष्ट पार्दै उनले आफूले समाज र नागरिकको हितका लागि काम गरेको विश्वास व्यक्त गरेकी छन्। साथै, अब आफूलाई एमालेमा फर्किन आग्रह नगर्न पनि उनले अनुरोध गरेकी छन्।
पार्टीबाट अलग भए पनि समाजप्रतिको सद्भाव, सेवाभाव र नागरिकप्रतिको जिम्मेवारी भने निरन्तर रहने गोतामेको भनाइ छ। हिजोसम्म पार्टीका कमरेड रहेकी आफू आजदेखि सबैकी साथीका रूपमा रहने उल्लेख गर्दै उनले समाजलाई आवश्यक परेको ठाउँमा सकारात्मक परिवर्तन र नागरिकको हितका पक्षमा साथ दिने प्रतिबद्धता व्यक्त गरेकी छन्। राजनीतिक यात्रामा साथ, सहयोग, माया र विश्वास दिने सबैप्रति आभार व्यक्त गर्दै उनले रिता सुवेदी, दलराज थापा, कुमारजंग, भरत भण्डारीलगायतलाई क्षमायाचना गरेकी छन्। त्यस्तै, तारा थापा, ध्रुव खनाल र मेखबहादुर थापाप्रति पनि आफ्नो निर्णयसँग जोडिएको सन्दर्भमा क्षमायाचना गरेकी छन्।









