भिमाद सञ्चार

तनहुँ २०८३ असोज ८
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र हावाहुरीको सम्भावना रहेकाले विद्यालय सञ्चालनमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।


मन्त्रालयले असोज ५ देखि ९ गतेसम्म विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै स्थानीय तहको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न आग्रह गरेको छ। साथै, विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज ९ देखि ११ गतेसम्म तय भएका परीक्षा मौसम तथा स्थानीय परिस्थितिअनुसार सञ्चालन गर्न भनिएको छ।
त्यसैगरी, सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा स्थानीय तहलाई सहजीकरण गर्न र अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन मन्त्रालयले अनुरोध गरेको छ। सूचना जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानका आधारमा जारी गरिएको हो।