भिमाद सञ्चार
तनहुँ २०८३ असोज ८
धादिङ । लगातार वर्षा भइरहेको र आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमानका कारण धादिङ जिल्ला प्रशासन कार्यालयले आज साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्गमा सबै सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएको छ।

बाढी, पहिरो तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न राजमार्ग बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पाण्डे (गौतम) द्वारा जारी सूचनामा उल्लेख छ।
प्रशासनले चालक तथा यात्रुलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा सम्बन्धित निकायले जारी गरेको सुरक्षा निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। आकस्मिक अवस्थामा नेपाल प्रहरी १००, सशस्त्र प्रहरी १११४ लगायत सम्बन्धित निकायमा सम्पर्क गर्न सकिने जनाएको छ।









