भिमाद सञ्चार
तनहुँ २०८३ भाद्र ३१
तनहुँको शुक्लागण्डकी नगरपालिका–२, एक्लेखेतमा बाढीको पानी घरभित्र पसेपछि १३ घरपरिवार विस्थापित भएका छन्। अविरल वर्षाका कारण बुधबार बिहान करिब २ बजे ताकुडाँडाको खोल्सीमा पानीको बहाव बढेपछि बस्तीमा बाढी पसेको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट कोत्रेबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेलको नेतृत्वमा उद्धार टोली परिचालन गरिएको थियो। बाढीका कारण मानवीय क्षति भने भएको छैन।
प्रहरीका अनुसार कुलप्रसाद पन्थी, टिका पुन, तिलकुमारी पुन, खिलबहादुर पुन, कलिमाया पन्थी, नममाया तिलिजा पुन, शंकर विक, नरबहादुर विक, लुककुमारी पुन, दुरुपती पौडेल, खेमबहादुर विक, हर्कबहादुर पुन र मिना सुवेदीका घरमा बाढीको पानी पसेको छ। पानी घटिसके पनि विस्थापित परिवारलाई सुरक्षित स्थानमा सार्ने र जोखिम क्षेत्रमा निगरानी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।









