नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले भने, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’

प्रचण्ड र बादल दुवै चितवनका हुन् । उनले माओवादी कार्यकर्ताहरु आफूतिर आइरहेको पनि बताए । पूर्वमाओवादी नेता बादलले भने, ‘माओवादीभित्रको अन्तरविरोध देखिराख्नु भएको छ, त्यो कुरा स्वयं प्रचण्डले नै व्यक्त गरिरहनु भएको छ, कतै म एक्लो हुने त होइन, सबै मन्त्री हुनलाई लुछाचुडी गरिराखेका छन् भन्ने अभिव्यक्ति सुनिरहनु भएको छ, त्यसको अर्थ सबै प्रचण्डको पछाडि लागेका छन् भन्ने त बुझिएन ।’

पूर्व गृहमन्त्रीसमेत रहेका बादलले एमालेमा असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयन भए पनि आफ्नो जिम्मेवारी कायमै रहने कुरा बताए। बादल पुस ५ को प्रतिनिधिसभा विघटनपछि प्रचण्डको साथ छाडेर ओलीतिर आएका थिए।

तर फागुन २३ को सर्वोच्चको फैसलापछि पनि उनीसहितका नेताहरु औपचारिक रुपमा माओवादी छाडेर एमालेमै समाहित भएका थिए। थापाले प्रचण्ड अझै एक्लिँदै जाने पनि दाबी गरेका छन्।

‘राष्ट्रियता, समाजवाद, र समृद्धिको नाराबाट मैले आफूलाई विचलित गराएको छैन। बरु प्रचण्डले त्यसलाई छाडे’, उनले भने, ‘प्रचण्ड दक्षिणपन्थी भासतिर लागे। पार्टीको लाइनबाट उनी दायाँ बायाँ भइसकेका छन्।’