भिमाद सञ्चार
तनहुँ २०७९ भाद्र १८ शनिबार
पोखराको छिनेडाँडामा खुकुरी प्रहार गरी श्रीमानले श्रीमतीको ह’त्या गरेका छन्। पोखरा महानगरपालिका वडा नं -१४ छिनेडाँडा राधाकृष्ण मार्गस्थित घरायसी विवादमा ४६ वर्षीय श्रीमान लोक बहादुर गुरुङले आफ्नै श्रीमती ४४ वर्षीया विमला गुरुङलाई टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

कास्कीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काका अनुसार घटनाको सूचना लगत्तै खटिएको प्रहरीको टोलीले विमलालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगेकोमा उनको अन्दाजी बिहान ११ बजे मृत्यु भएको हो।

घटनामा श्रीमान् लोक बहादुर गुरुङ पनि घाइते छन्। प्रारम्भिक अनुसन्धानमा लोक बहादुरले श्रीमतीलाई टाउकोमा खुकुरी प्रहार गरी आफैलाई पेटमा खुकुरी प्रहार गरेको देखिएको निरिक्षक खड्काले बताए। उनको अवस्था समेत गम्भीर रहेकाले विस्तृत विवरण खुल्न नसकेको उनले बताए ।

पोखरा -१४ का वडा अध्यक्ष बाेधराज कार्कीका अनुसार श्रीमती विमला हालैमात्र वैदेशिक रोजगारबाट नेपाल आएको बुझिएको छ । उनिहरुका तीनजना छोराहरु छन्।