भिमाद सञ्चार

तनहुँ  २०७९ कार्तिक २५
अशोक विश्वकर्मा

बैक तथा वितीय संस्था मार्फत कर्जा लिएर व्यवसाय गरेका उद्योगी ब्यवसायी तनहुँमा आन्दोलित भएका छन् । न्यून ब्याजदरमा कर्जा लिएका ब्यवसायीहरु बैकले एकतर्फी रुपमा ब्याज बढाएर उद्योग ब्यवसाय धरासायी बनाएको भन्दै आन्दोलित भएका छन् ।

विहीबार तनहुँ उद्योग वाणिज्य संघको आह्वानमा जिल्ला भरका व्यवसायीहरुले ब्याजको दर अविलम्व घटाउनुपर्ने माग राखेर आन्दोलन गरेका हुन् ।
कोभिडपछि भर्खर तङ्ग्रिन लागेको ब्यवसाय बढ्दो ब्याजदरका कारण झन आक्रान्त बन्न थालेपछि बाध्य भएर आन्दोलित हुनुपरेको जिल्लाको शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष विमलप्रसाद रिमालले जानकारी दिए । अध्यक्ष रिमालका अनुसार एक तर्फी रुपमा बढेको ब्याजदर घटाउन आन्दोलित ब्यवसायीहरुले अर्थ मन्त्रालय र राष्ट्र बैकलाई सम्बोधन गरेर प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण पत्र पठाएका छन् ।
ब्यवसायीहरुको ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विश्वराज अर्यालले सम्वन्धित मन्त्रालय र बैकमा पत्र पठाएर सहजीकरण गर्ने आवश्वासन दिएका थिए ।
आन्दोलनमा सहभागि भएका ब्यवसायी समुन्द्रराम श्रेष्ठले बैकले ७ देखि ८ प्रतिशतमा प्रवाह गरेको कर्जाको ब्याजदर बढाएर १४ देखि १५ प्रतिशत पुर्‍याउदाँ मर्कामा परेको गुनासो गरे । उनले व्यापार ब्यवसायमा मन्दी लागेको बेला चर्काे ब्याज बुझाउनुपर्दा ब्यवसायीहरु धरासायी बन्दै जान थालेको जानकारी दिए । उनका अनुसार जिल्लाका साना तथा ठुला ब्यवसायीहरु व्यवसायबाट पलायन हुने अवस्थामा समेत पुगेका छन् ।