भिमाद सञ्चार

तनहुँ २०७९ मंसिर १ बिहिवार

मंसिर ४ गते हुने निर्वाचनमा खटिने कर्मचारीहरु आफ्नो मतदान केन्द्रमा पुगेका छन् । निर्वाचन स्थल निर्माण लगायत कार्य गर्न उनीहरु विहीबार आफ्नो तोकिएको स्थानमा मतपत्र, मत संकलन गर्ने बक्स लगायतका सामाग्री सहित पुगेका हुन् ।

तनहुँमा दुई निर्वाचन क्षेत्र कायम रहेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा निर्वाचन अधिकृतका कार्यालय रहेकाले चुनावका लागी आवश्यक पर्ने कर्मचारी र आवश्यक सामाग्री शुक्लागण्डकी नगरपालिकाबाटै ग्रहण गरेर उनीहरु कार्यस्थल प्रस्थान गरेको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए । उनका अनुसार विहिबारसाँझ सम्म अधिकाँश कर्मचारी पुगी सकेका छन् । ‘ कर्मचारीमा निकै उत्साह देखिएको छ’ उनले भने ‘हामीले तयारी पुरा गरेका छौँ’

तनहुँमा १४२ मतदान स्थल सहित ३०५ मतदान केन्द्र तोकिएको छ । यसको अतिरिक्त सुरक्षा कर्मी, निजामती कर्मचारी र कैदीबन्दीका लागि थप दुई अस्थायी मतदान स्थल तोएिको छ । जिल्ला कारागार तनहुँमा रहेको ५१ जना कैदीबन्दीका लागि जिल्ला कारागार दमौलीमा र अन्य कर्मचारीका लागि कृषि ज्ञान केन्द्र तनहुँमा अस्थायी मतदान स्थल तोकिएको निर्वाचन कार्यालय तनहुँका अधिकारी हरि प्रसाद ढकालले जानकारी दिए । उनका अनुसार जिल्लामा निजामती कर्मचारीको संख्या एक हजार १२६ रहेको छ ।
यता तनहुँको निर्वाचन क्षेत्र २ अन्तर्गत रहेको ७३ मतदान स्थलका १५३ मतदान केन्द्रका लागि एक हजार २४० कर्मचारी र ९१८ जना सुरक्षाकर्मी खटिएका छन् । म्यादी प्रहरी सहित नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाको टोली सुरक्षामा खटिएको निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिए ।

तनहुँमा तीन हजार ६६० कर्मचारी निर्वाचनका लागि खटिएका छन् ।