भिमाद सञ्चार

तनहुँ २०७९  मंसिर १३

प्रदिप काफ्ले

तनहुँको व्यास-५ स्थित चुदेर गाउँलाई रोटरी भिलेजको रुपमा बिकास गरिने भएको छ । उक्त गाउँलाई रोटरी कम्युनिटी
कोरको रुपमा बिकास गर्ने उद्देश्यले रोटरी क्लब अफ दमौलीले अमेरिका स्थित रोटरी क्लब अफ होनोलुलु सनसेटको सहयोगमा विभिन्न कार्यक्रमहरु पनि गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा चुदेरमा होमस्टे सञ्चालनार्थ मंगलबारदेखि अतिथि सत्कार तथा हामेस्टे सञ्चालन तालिम सुरु भएको छ। रोटरी क्लब अफ दमौली र रोटरी क्लब अफ होनोलुलु सनसेटको आयोजनामा तथा व्यास नगरपालिकाको सहयोगमा होमस्टे सञ्चालन सम्बन्धी ५ दिने तालिम आयोजना गरिएको हो । तालिममा प्रशिक्षकहरूले होमस्टे सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पूर्वाधार बारे , अतिथि सत्कार, स्थानीय उत्पादन तथा बजारीकरण, नेतृत्व बिकास, सरसफाइ खाना बनाउन सिकाउनुका साथै होमस्टे सञ्चालन सम्बन्धी कानुनी तथा अन्य व्यवस्थाहरूबारे तालिम दिइनेछ । सो अवधिमा पर्यटनविद् हरिसिंह गुरुङ्ग, इन्जिनियर धुव्र पण्डित लगायतले तालिम प्रदान गर्नेछन् । तालिममा स्थानीय ५२ जनाको सहभागीता रहेको छ ।

तालिमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले रोटरी क्लबले चुदेरलाई पुर्नस्थापना गर्ने अभियान
थालेको बताए । खानेपानी, सडक लगायतका पूर्वाधारको अभावमा रित्तिएको गाउँ रोटरीको माध्यमबाट पुन जागरित भएको छ, यसमा तपईहरुको प्रतिवद्धता पनि उत्तिकै आवश्यक छ उनले भने । रोटरीले सुरु गरेको अभियानमा स्थानीयको सक्रियता पनि महत्वपुणर् भएको बताउदै न्यौपानेले चुदेरलाई पहिलेको भन्दा पनि राम्रो अवस्थामा फर्काउन सबै लाग्न अनुरोध गरे । उनले भने मानिसहरु सहरी कोलाहलबाट अलग भएर केही क्षण रमाउन चाहन्छन्,
त्यसको लागि उपयुक्त गन्तव्य चुदेर पनि बन्न सक्छ, तपाइहरुले मौलिक सभ्यता र संस्कार अनुसार पहुनाको मन जित्ने कोसिस गर्नुहोला’ । चुदेर गाउँलाई रोटरी भिलेजको रुपमा बिकास गर्न रोटरीले चुदेर एकीकृत बिकास कार्यक्रम सुरु गरेको रोटरी क्बल अफ दमौलीका पूर्व अध्यक्ष हरिसिंह गुरुङ्गले जानकारी दिए ।

कृषि, शिक्षा, स्वास्थ्य, संस्कृति र पर्यटन क्षेत्रका कार्यक्रमहरु समेटेर एकीकृत बिकास योजना बनाएको उनले बताए । सोही योजना अन्तर्गत गाउँको पर्यटकीय सम्भावना र संस्कृतिको उजागर गर्न गाउँमा होमस्टे सञ्चालन गर्न लागिएको उनले बताए । उक्त अभियान अन्तर्गत चुदेरको समग्र बिकासका कार्यक्रमहरु क्रमश अघि बढीरहेको उनले बताए । सोही अभियान अन्तर्गत चुदेरमा रोटरी क्लबले १ करोड बराबरको खानेपानी आयोजना सम्पन्न गरी स्थानीयलाई हस्तान्तरण समेत गरीसकेको छ ।

चुदेर टोल बिकास संस्थाका अध्यक्ष दलबहादुर थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा व्यास नगरपालिका वडा सदस्य लक्ष्मी वि.क, सचेतना आमा समूहकी अध्यक्ष कमना थापा, रोटरीयन प्रदीप काफ्ले लगायतले बोलेका थिए ।