भिमाद सञ्चार
अशोक विश्वकर्मा
मंसिर १५, दुलेगौडा ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाले पनि अवैध रुपमा सरकारी जमिनमा निर्माण भएको संरचनाका साथै ब्यवसाय हटाउन सुरु गरेको छ ।

गत भदौमा ३५ दिने सुचना निकालेर सरकारको अधिकार क्षेत्रमा पर्ने स्थान खाली गराउन सुचना जारी गरेअनुसार नै नगरपालिकाले संरचना हटाउन सुरु गरेको नगरपालिकाका मेयर कृष्णराज पण्डितले बताए । नगरपालिकाले पहिलो दिन सडक छेउछाउमा सञ्चालन गरिएको साना ब्यवसायिकलाई हटेर सहयोग गर्न आग्रह गरेको छ ।
यस्तै बुधबार नै नगरपालिकाले सडक छेउछाउमा रहेको संरचना हटाएर कच्चा पदार्थ संकलन कार्य थालेको छ । अन्य क्षेत्रमा संरचना निर्माण गर्दा आवश्यक पर्ने भएकाले सडक छेउछाउमा निर्माण गरिएको संरचनालाई हटाएको प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले बताए । पहिलो दिन सामान्य कार्य भएपनि क्रमसमा सार्वजनिक जमिनमा अटेरीसाथ सञ्चालन भएको ब्यवसाय र संरचना हटाईने न्यौपानेले जानकारी दिए ।


नगरपालिकाले यस अघि बजार क्षेत्रको सुन्दरताका लागि लगाईएको विरुवाको फेद र बस्न मिल्ने गरि निर्माण गरिएको चौतारो मात्र हटाउन थालेपछि स्थानीय भने असन्तुष्ट देखिएका थिए । सडक निर्माणका क्रममा आफै हटाउन सकिन संचरनालाई नगरपालिकाले अनावश्यक चासो लिएको उनीहरुको भनाई थियो । एक स्थानीयले नगरपालिकाले जनताको आखाँमा छारो हाल्ने काम गरेको भन्दै अविस्वास ब्यक्त गरे । ‘ नगरपालिकाले काम भन्दा बढी खर्च देखिने गरि उपलब्धिहिन काम गरेको छ ।’ उनले भने ।
यता नगरपालिकाले भने बजार क्षेत्रमा नागरिकलाई असहज हुने गरि सडकको मापदण्डनै मिचेर सञ्चालित ब्यवसाय हटाउनुका साथै निर्माणजन्य पदार्थको उद्योगहरुलाई प्राथमिकताका साथ हटाउने लक्ष्य लिएको छ । ‘त्यस्ता संरचनाहरु हटाएर देखाउनेछौँ, त्यस्ता जमिनको संरक्षण गर्नु हाम्रो दायित्व हो ।’ मेयर पण्डितले भने, ‘हाम्रो कार्यले केही उद्योगी ब्यवसायीलाई मर्का पर्ला यसलाई आफ्नै नगरको समृद्धीका लागि गरिएको प्रयासको रुपमा बुझिदिनुहोला ।’
उनले देशकै प्रमुख पर्यटकीय नगरी पोखराको प्रवेशद्धारको रुपमा रहेको शुक्लागण्डकीलाई पर्यटकको आकर्षणको केन्द्र बनाउने गरि नगरपालिकाले योजना निर्माण गरिरहेको जानकारी दिए ।
नगरपालिकाको वडा ४, ७, र ३ का वडाध्यक्षहरुले समेत नगरपालिकाले अब्यवस्थित रुपमा सञ्चालित ब्यवसायलाई हटाउने र सार्वजनिक जमिनको संरक्षण गर्ने विषयलाई प्राथमिकता साथ अघि बढाउनु सकरात्मक रहेको बताए ।