भिमाद सञ्चार

तनहुँ २०७९ मंसिर २१

म्याग्दीको बेनीमा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका वडा नं. ६ घारका कृष्ण बरुवाल रहेका छन् । उनी निर्माण व्यवसायी भएको बताइएको छ ।

नगरपालिका वडा नं. ८ बेनीमा आज दिउसो म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणस्थलमा माटोको ढिस्को खसेर पुरिँदा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार म्याग्दी क्याम्पसको भवन निर्माणका लागि खनिएको जगको नाप÷जाँच गर्न पुगेका बेला जगभन्दा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर उनी गम्भीर घाइते भएका थिए ।

माटोको ढिस्कोले पुरिएका बरुवालको डोजरको सहायतामा नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरी बेनी अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । निर्माण व्यवसायी बरुवाल उत्तरगंगा निर्माण सेवाका सञ्चालक छन् ।