ऋषिङ गाउँपालिकाको आयोजनामा तेस्रो म्याराथन प्रतियोगिता हुने

तनहुँ  २०७९ पौष १२
तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा तेस्रो म्याराथन प्रतियोगिता हुने भएको छ । स्थानीय पर्यटकीयस्थलको प्रचारप्रसार र प्रबर्द्धन गर्ने उद्देश्यसहित गाउँपालिकाले म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यही पुस २७ गते स्थानीय र महिला गरी दुई प्रकारका म्याराथन प्रतियोगिता आयोजना गरिने गाउँपालिकाले जनाएको छ । विगत वर्षहरुमा राष्ट्रियस्तरका धावकको सहभागितामा म्याराथन गर्दै आइए पनि यसपटक भने स्थानीयलाई प्राथमिकता दिइने गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।

स्थानीय म्याराथन प्रतियोगिता २१ किलोमिटर दूरीको रहनेछ । ऋषिङको प्रवेशद्वार धारुङबाट सुरु हुने म्याराथन शिव सरस्वती मावि, वडा भवन ७, गाउँपालिका कार्यालय, गोठादी, श्रृङ्ग मावि, ढुङ्गाडे, चालिसे, थप्रेक, भिरकोट, गुम्लेक, कालिका मन्दिर पुगेर समापन हुनेछ ।

महिला सर्ट म्याराथन प्रतियोगिता १० किलोमिटर हुनेछ । धारुङबाट सुरु हुने म्याराथन शिव सरस्वती मावि, वडा भवन ७ हुँदै गाउँपालिका कार्यालय पुगेर सकिनेछ । स्थानीय म्याराथनमा प्रथम हुनेलाई रु ३० हजार, द्धितीय हुनेलाई रु २२ हजार, तृतीय हुनेलाई रु १५ हजार र सान्त्वना हुनेलाई रु दुई हजार पुरस्कार प्रदान गरिनेछ ।

महिलातर्फ प्रथम हुनेलाई रु २० हजार, द्धितीय हुनेलाई रु १५ हजार, तृतीय हुनेलाई रु १० हजार र सान्त्वना हुनेलाई रु दुई हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : २०७९ पुष १२ गते मङ्गलवार
प्रतिक्रिया