भिमाद सञ्चार
तनहुँ २०७९ पौष २६

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकामा विद्युत् सबस्टेसन निर्माण भएपछि दुई जिल्लाका सर्वसाधारण लाभान्वित भएका छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडतर्फ घिरिङ-४ मा ३३/११ केभीको घिरिङ सबस्टेसन निर्माण सम्पन्न भएपछि दुई जिल्लाका चार पालिकाका सर्वसाधारण लाभान्वित भएका हुन् ।

तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत घिरिङ सबस्टेसन निर्माण गरिएको छ । सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित तनहुँमा विद्युतीकरण गर्न र विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन निर्माण गरिएको आयोजना प्रमुख राजाभाइ सिल्पकारले जानकारी दिए ।

घिरिङ सबस्टेसनमा ६/८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीनवटा फिडर लाइन निकालिएको छ । ११ केभीको एउटा फिडर लाइन जगेडामा राखिएको छ ।

सबस्टेसनमार्फत तनहुँको भिमाद नगरपालिका तथा घिरिङ गाउँपालिकाको सम्पूर्ण क्षेत्र र ऋषिङ गाउँपालिका तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को केही भागमा विद्युत् आपूर्ति हुनेछ । यसबाट त्यस क्षेत्रका उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाउनेछन् ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना’ मार्फत तनहुँको शुक्लागण्डकी नगरपालिका-५ स्थिति खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ ।