भिमाद सञ्चार
तनहुँ २०७९ माघ १६

शहीद दिवसको अवसरको व्यास नगरपालिका कार्यालयले सोमबार आयोजना गरेको व्यास अल्टा म्याराथनको उपाधि व्यास–७ का बिशाल गुरुङ्गले चुमेका छन् ।


भारतीय सेनामा कार्यरत २६ बर्षीय गुरुङ्गले ५७ जना धावकलाई पछि पार्दै उक्त उपाधि चुमेका हुन् ।
व्यास–५ को मानहुँदेखि व्यास–८ को सहिदग्राम पुलिमराङ्गसम्मको ४४ किलोमिटरको म्याराथनमा गुरुङ्गले ३ घण्टा २८ मिनेट २६ सेकेण्डामा पार गर्दै प्रथम पुरस्कार हात पार्न सफल भएका छन् ।

त्यसैगरी व्यास–६ का साहस पन्थ द्वितीय भएका छन् । उनले ३ घण्टा ३६ मिनेट ३८ सेकेण्डामा दुरी पार गरेका थिए ।
त्यसैगरी तृतीय हुनेमा आँबुखैरेनी–१ का सनम गुरुङ्ग हुनुभएको छ । उनले ३ घण्टा ३८ मिनेट ३१ सेकेण्डम दुरी पार गरेका थिए ।
‘विविधतायुक्त गाउँशहर,समृद्ध मेरो व्यास नगर’ भन्ने नाराका साथ प्रर्यटन प्रबद्र्धन गर्ने उद्वेश्यले व्यास नगरपालिका कार्यालयले यसबर्ष छैठौं व्यास नगर अल्टा म्याराथनको आयोजना गरेको हो । ।
नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाँच बर्षदेखि शुरुवात गरेको म्याराथनलाई यसबर्ष पनि निरन्तरता दिदै आएको व्यास नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेले जानकारी दिए ।
पर्यटकीय गाउँ मानहुँ र सहिदहरुको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गरेको उनले बताए ।

मानहुँकोट देखि शुरु भई सिद्धमार्ग हुदै अलैचे,चापाघाट,पृथ्वीराजमार्ग हुदै दुर्गा मन्दिर अनसन चौतारी,सफासडक,भोर्लेटार चोक,व्यास मार्ग हुदै बैरेनी दुम्सी खहरे,कलेस्ती बोटेटार,पाथ्रा सत्रसय,कालिका मार्ग हुदै बर्लाछी सोतीबेसी,बगुवा रिस्ती,बाहुन पोखरा हुदै पुलिमराड सहिद स्मारक पार्कमा पुगेर टुगिएको हो ।
गतबर्षसम्म म्याथनमा राष्ट्रिय धावक सहभागि गराइएपनि यसबर्ष जिल्लाभित्रका धावकलाई मात्रै सहभागि गराइने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।

प्रतियोगितामा प्रथम पुरस्कार रु.६१ हजार द्वितीय रु.५१ हजार तृतीय रु.३८ हजार र सान्तवना तीन जनालाई जनही रु.बाह्र हजार पाँच सयका दरले प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका बरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधी सभासदस्य रामचन्द्र पौडेल र नगरप्रमुख बैकुण्ठ न्यौपाने लगायतका अतिथहरुले बिजयी धावकहरुलाई पुरस्कार तथा प्रमाणपत्रले सम्मान गरेका थिए ।