भिमाद सञ्चार

तनहुँ २०७९ फागुन ३

जिल्ला ट्राफिक कार्यालय तनहुँले भाडा लिष्ट टाँस नगर्ने करिब दुई सय सार्वजनिक सवारी साधानलाई कारबाही गर्न थालेको  छ । यात्रुसंग जथाभावी भाडा असुलेको जनगुनासा आउन थालेसंगै  प्रहरीले भाडामा एकरुपता कायम गर्न भाडाको लिष्ट टाँस्ने अभियानलाई तीब्रता दिएको हो ।

दुई दिनमा करिब दुई सय सवारीसाधानलाई कारबाही गर्दा रु.एक लाख राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका इन्चार्ज प्रहरी नायव निरीक्षक राजीब बिष्टले जानकारी दिए ।
उक्त सवारीसाधानलाई लापरबाही अन्र्तगत रु.पाँच सय जरिवाना गरी भाडादर लिष्ट टाँस्न गर्न लगाइएको छ ।

दमौलीबाट संचालित सबै बसमा भाडादर लिष्ट टाँस गर्न दिएपनि केही बस व्यवसायीले टाँस नगरेको भन्ने गुनासा आउन थालेको पृथ्वीराजमार्ग बस संचालक समिति दमौलीका शाखा प्रमुख शम्भु बस्नेतले जानकारी दिए ।
भाडादरमा एक रुपता कायम गर्न थालिएको यस अभियानमा बस व्यवसायीले नियम पालना गदै कार्यन्वयनमा ल्याउन  आग्रह गरिएको उनले बताए । त्यसैगरी स्वरुप परिवर्तन गरी आवाज ठुलो बनाई बस्तीमा आतंकित बनाउने मोटरसाइकललाई पक्राउ गरी कारबाही गर्न थालिएको छ ।
यस्ता मोटरसाइकलाई रु.पाँच हजारसम्म जिल्ला ट्राफिक कार्यालयले जरिवाना गर्न सक्नेछ सो भन्दा बढी जरिवानाको लागि यातायात व्यवस्था कार्यालय डुम्रे पठाउने गरिएको छ ।

त्यसैगरी पछिल्लो समय मादक पदार्थ सेवन गरी सवारीसाधान चलाउनेको संख्या पनि बढ्दै जानथालेपछि सवारीसाधान चेकजाँच कार्यलाई निरन्तरता र तीब्रता दिइएको प्रहरी नायव निरीक्षक बिष्टले जानकारी दिए । त्यसैगरी ट्राफिक नियम बिपरीत सवारीसाधान चलाउनेको संख्या पनि कमि नरहेको उनले बताए ।