भिमाद सञ्चार

तनहुँ २०७९ फागुन ९

पोखरा । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एकः परिकार अनेक’ भन्ने मूल नाराका हेमजामा यस पटक पनि आलु महोत्सव हुने भएको छ । महोत्सव चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवको तयारीका लागि लागि मंगलबार हेमजामा बसेको भेलाले सुबिन श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । समिति महासचिवमा वसन्तकुमार श्रेष्ठ, सचिवमा चन्द्रमान श्रेष्ठ तथा कोषाध्यक्षमा मधुर कुँवर छन् ।

भेलाले विभिन्न उपसमिति पनि गठन गरेको बताइन्छ । २०६६ सालदेखि वार्षिक रुपमा चैतमा हुँदै आएको महोत्सवको पहिलो संस्करण स्थानीय बहुउद्देश्यीय किसान सहकारी संस्थाले, दोस्रो संस्करण तत्कालिन हेमजा गाविसले तथा तेस्रो संस्करणदेखि लगातार विष्णुपादुका क्लवले गर्दै आएको थियो ।

कोरोना भाइसरको संक्रमणका कारण बिगत तीन बर्षदेखि स्थगित भएको महोत्सव यस बर्षदेखि निरन्तर दिन लागिएको हो ।