भिमाद सञ्चार

तनहुँ २०७९ फागुन १७

व्यास नगरपालिका कार्यालयमा ‘महिलासंग उपमेयर कार्यक्रम’ अन्र्तगत गर्भवती महिलालाई पोषण कार्यक्रम शुरु गरिएको   छ । गर्भवती महिलालाई पौष्टिक आहार आवश्यक पर्ने भएकोले जनही रु.पाँच हजारका दरले प्रोत्साहन रकम बितरण गर्न थालेको हो ।

व्यासकी कार्यपालिका सदस्य चन्द्र माया परियारले गर्भवति महिलालाई प्रोत्साहन रकम एक कार्यक्रमका बीच हस्तान्तरण गरेकी हुन् ।
सरकारी तथा व्यासका स्वास्थ्य संस्थामा गई गर्भवती जाँच गरी आठ महिना पुगेका महिलालाई प्रोत्साहन प्रदान गरिएको महिला बालबालिका तथा समाज कल्याण उपशाखाकी सहायक महिला विकास निरीक्षक शर्मिला कट्टेलले जानकारी दिइन् ।

व्यास नगरपालिका मातहत रहेका चौध वटै वडामा गरी एक सय छयासी जना गर्भवती महिलालाई प्रोत्साहन रकम प्रदान गरिनेछ । व्यास नगरपालिका वडा नं ११,१२,१३ र १४ वडाका महिलाहरुलाई बितरण गरिसकिएको उपशाखाकी प्रमुख राधा आचार्यले जानकारी दिइन् ।
बाँकी रहेका अन्य दश वडामा पनि गएर गर्भवती महिलालाई रकम प्रदान गर्ने योजना रहेको छ । उनले भनिन् ‘यसका लागि स्थायी बसोबास गरेका महिला हुनुपर्ने व्यवस्था रहेको छ ।’

समय समयमा स्वास्थ्य संस्थामा गई स्वास्थ्य जाँच गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न सहज हुनुका साथै हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न सकिने हुँदा स्वास्थ्य चेकजाँचलाई प्राथामिकतामा राखिएको छ ।