भिमाद सञ्चार

तनहुँ २०७९ फागुन २४

दमौली : तेश्रो व्यास नगर महिला हाफ खुल्ला म्याराथनमा त्रिभुवन आर्मी क्लब काठमाण्डौंकी पूर्णलक्ष्मी न्यौपाने प्रथम भएकी छिन् । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बुधबार व्यास नगरपालिकाले आयोजना गरेको म्याराथनमा जुम्ला घर भएकी न्यौपानेले २१ किमी दुरी १ घण्टा ४७ मिनेट ५१ सेकेण्डमा दुरी पार गरि प्रथम हुन सफल भएकी हुन् ।

उक्त म्याराथन प्रतियोगितामा सोलुखुम्बुकी अनिता राई द्वितीय भएकी छिन् । उनले १ घण्टा ५२ मिनेट २४ सेकेण्डमा दुरी पार गरेकी थिइन् । जुम्लाकी बिश्वरुपा बुढाले १ घण्टा ५७ मिनेट ३२ सेकेण्डमा दुरी पार गरी तृतीय भएकी छन् ।प्रतियोगितामा प्रथम हुने धावकले रु.४१ हजार ७९, दितिय हुनेले रु.३१ हजार ७९ र तृतीय हुने धावकले रु.२१ हजार ७९ का साथमा मेडल र ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसै गरी गुल्मीकी गीता बिक,गोरखाकी अमृता गुरुङ्ग र नवलपरासीका सीमा चौधरी सान्तवना भएका छन् । उनीहरुले क्रमशः रु.एघार हजार ७९ का दरले पुरस्कार तथा सहित मेडल र ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । बिजयी धावकहरुलाई व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने र उपप्रमुख इन्दिरा दरैले संयुक्त रुपमा पुरस्कार बितरण गरेका थिए । कार्याक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले खेलकूदका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्न म्याराथनको आयोजना गरेको बताए ।

व्यास गुफादेखि सफासडक हुँदे तालघरे, मुसेखोला, घाँसीकुवा, परासर मार्गको सेरा, बेलटारी, अर्चलचौर, धरमपानी हुँदै तनहुँसुर दरबारसम्म पुगेर म्याराथनको अन्त्य भएको थियो । म्याराथनको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरेका थिए भने प्रतियोगितामा ६४ जना धावकले भाग लिएका थिए ।