भिमाद सञ्चार

तनहुँ २०७९ फागुन २७

तनहुँ । तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो ।

व्यासका चौधवटै वडाका कृषकलाई मकैको बीउ वितरण गरिएको हो । कृषकलाई अरुण-२, रामपुर कम्पोजिट, मनकामना-३ लगायत जातको मकैको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिए । प्रत्येक वडाबाट सिफारिस भइ आएका कृषकलाई उनीहरुले माग गरेको आधारमा बीउ उपलब्ध गराएको उनले बताए ।

“हालसम्म छ मेट्रिक टन बीउ वितरण गरिसकेका छौँ”, बगालेले भने, ‘बाँकी बीउ वितरण जारी छ ।”

उन्नत जातको मकैको बीउको मूल्य प्रतिकिलो रु एक सय ३० देखि रु एक सय ५० कायम गरिएको छ ।

कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित तथा आत्मनिर्भर बनाउने उद्देश्यले बीउमा अनुदान दिन थालिएको उनको भनाइ छ ।

व्यास नगरपालिकाले यसअघि १४ वटै वडाका कृषकलाई २२ मेट्रिक टन आलुको बीउ वितरण गरेको थियो ।

यसैगरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीका घारसमेत वितरण गर्न लागेको छ । एक सय कृषकलाई मौरीसहितको घार प्रदान गरिने कार्यालयले जनाएको छ ।