भिमाद सञ्चार

तनहुँ २०७९ चैत्र ९

तनहुँ : जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला उपचार केन्द्रले मंङ्लबार देखि श्वासप्रश्वासका बिशेषज्ञ डाक्टर सहित सेवा शुरु गरेको छ ।

१३ औ गिरीजा प्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर श्वासप्रश्वास बिशेषज्ञा डा.शैलेस गुरुङ्गबाट उपचार गरी उक्त सेवा संचालनमा ल्याइएको हो ।

बिहान १० बजेदेखि ४ बजेसम्म नागरिकलाई सेवा प्रदान गरिने केन्द्रका प्रमुख डा.रामकुमार श्रेष्ठले जानकारी दिए ।  अहिले शुरुमा श्वासप्रश्वास जाँच गर्ने स्पाइरोमिटर रहेको र आवश्यक उपकरण जडान गर्दै जाने योजना रहेको उनले बताए ।  यसअघि सामान्य रुपमा उपचार गर्दै आएपनि आजदेखि उद्वेश्य अनुरुपको कार्यको थालनी गरेका छौ,उनले भने,‘अब श्वासप्रश्वास संम्बन्धीका बिरामीले पोखरा,चितवन र काठमाण्डौ धाउनु पदैन् ।’
हाल उक्त केन्द्रमा दश बिशेषज्ञ र दश मेडिकल अधिकृत गरी बीस जना सहित एक सय जना चिकित्सकले सेवा प्रदान गर्दै आएका छन् ।

एनेस्थेसिया,हाडजोर्नी,सर्जन,स्त्रीरोग, लगायतका बिशेषज्ञ चिकित्सक उक्त केन्द्रमा रहेका छन् ।  दश शय्या आइसियू सहित पचास शय्या क्षमताको अस्पतालमा दैनिक तीन सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् ।

उक्त जीपी कोइराला उपचार केन्द्रको सात सय चालिस रोपनी क्षेत्रफल जग्गा आफ्नो स्वामित्वमा रहेको बताइएको छ ।