भिमाद सञ्चार

तनहुँ २०७९ चैत्र १६

चैत्र १२ गते म्याग्दे गाउँपालिका–४ मनहरी स्थित खानेपानीको ट्यांकीमा मृत भेटिएकी महिलाको हत्यामा संलग्न एक व्यक्तिलाई प्रहरीले आज सार्वजनिक गरेको छ । कास्की जिल्ला पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ बर्षीया शान्ति श्रेष्ठको हत्या आरोपमा जिल्ला काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–५ घर भई हाल पोखरा बस्दै आएका प्रकाश सुनारलाई पक्राउ गरेको हो ।


शव फेला परेको चार दिनको अवधिमा अभियुक्त सुनारलाई जिल्लाको शुक्लागण्डकी नगरपालिका क्षेत्रबाट पक्राउ गर्न प्रहरी सफल भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश बिष्ट क्षेत्रीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराएका हुन् ।
उक्त खानेपानी ट्याङ्की नजिक ईटाले टाउँको र संबेदनशील अंगमा प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । दुई बर्षअघि उक्त  महिलाको सुनारसंग चिनजान प्रहरीले जनाएको छ ।


पछिल्लो समय सुनारसंग महिलाले रु.दश हजार सापट लिएको र सुनारले उक्त रकम पटक पटक माग्दा दिन नसकेपछि महिलाको हत्या गरेको खुल्न आएको हो ।
ती महिलाले तनहुँको म्याग्दे गाउँपालिका स्थित थर्पु बजारमा एक जनासंग पैसा मागेको र त्यहाँबाट पाएपछि दिन्छु भनेकाले सुनार पनि महिलासंगै आएको र पैसा नपाएपछि हत्या गरेको अभियुक्त सुनारले प्रहरी समक्ष बताएका छन् ।
अभियुक्त सुनारले गत फागुन २१ गते राती उक्त खानेपानी ट्यांकी नजिक कर्तव्य गरी दुई लाख पच्चीस हजार घनामिटर क्षमताको टयाङ्को ढकान खोली खसाली दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
महिलाको साथमा रहेको मोबाइल र कानमा लगाएको असी लाल सुनका गरगहना लुटेका थिए । निजले उक्त सुन पोखरा महेन्द्रपुल स्थित सुनचाँदी पसलका नविन कुमार गहतराजलाई बिक्री गरेकोले निजलाई समेत प्रक्राउ गरी अनुसन्धान थालिएको उनले बताए ।


अभियुक्त सुनार विसं ०६७ सालमा पनि एक महिलाको हत्या गरी बीस बर्ष कैद सजायँ भएकोमा दश बर्ष मिनाहा भई छुटेका थिए ।
श्रेष्ठ गत फागुन महिना देखि नै घरबाट हराएको भनि उनका आफन्तले कास्की जिल्ला प्रहरी कार्यालयमा निबेदन दिएका थिए ।
मनहरी क्षेत्रका १३८ घरधुरीमा वितरण गरिएको धाराबाट आएको पानीमा दुई दिन अघिबाट गन्ध आएपछि उपभोक्ताहरुले समितिमा जानकारी गराए सँगै पानी ट्याङ्कीमा गई हेर्दा गत आइतबार बिहान महिलाको शव भेटिएको थियो ।

‘दुई/तीन दिन अगाडि देखि उपभोक्ताहरू बाट पानी गन्हायो भनि गुनासो आएको र बिहान ट्यांकीको ढकन खोलेर हेर्दा शव देखिएपछि प्रहरीलाई खबर गरेको थिए । महिलाको शव आफ्न्तले बुझि लगेका छन् ।