भिमाद सञ्चार

तनहुँ २०७९ चैत्र २४

नेपाली कांग्रेस नगर कार्य समिति भिमादले भिमाद नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी साथै भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीलाई विज्ञप्ती तथा ध्यानाकर्षण पत्र बुझाएको छ ।

भिमाद नगरपालिका अन्तर्गत रहेको शिक्षा शाखाबाट विगत लामो समयदेखि हुँदै आइरहेको विभेदकारी अनियमितता पूर्ण कार्यसम्पादन शैली शिक्षा शाखाबाट मनपरी हर्कत  देखिएको भन्दै तालाबन्दी गरिएको नेपाली कांग्रेस भिमाद नगरकार्य समितिका सभापति अरविन श्रेष्ठले जानकारी दिए । शक्ति र सत्ताको आडमा मनपरी गर्नेका बिरुद्द विपक्षमा उभिनु अनिवार्य त्रुटि सच्याउन दवाव स्वरूप भिमाद नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको उनले बताए ।

नेपाली कांग्रेस भिमाद नगर कार्य समितिले निम्न बुँदाहरूलाई विज्ञप्ती तथा ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।
१. निजी स्वार्थ र संगठनमा आबद्धताको आधारमा शिक्षक सरुवा गर्नु , शिक्षकहरुलाई अनावश्यक दुःख दिनु ।
२. योग्यताको र तहको आधारमा प्र. अ नियुक्ति नगरि राजनीतिक स्वार्थबाट प्रेरित भई प्र.अ नियुक्ति गरिनु
३. अस्थायी , करार शिक्षक छनोट प्रक्रिया निष्पक्ष नहुनु ।
४. विद्यालयमा विद्यार्थीहरूको चाप र आवश्यक विषय अनुसार दरबन्दीको व्यवस्था नगरी मनपरी तरिकाले दरवन्दी थपघट गर्नु
५ . आफ्नो नजिकको मान्छेको अस्थायी करार जागिर जोगाउन विषय परिवर्तन गरी सरुवा गराउने विधिबाट उद्देश्य पुरा गर्नु ।
६ . मावि तहसम्मको अनिवार्य निशुल्क शिक्षाको नितिनियमलाई उल्लघन गरी कतिपय सामुदायिक विद्यालयले विद्यार्थीसंग रकम असुली गर्दा मौन रहनु ।
७ . शिक्षक सेवा आयोगबाट छनोट भई भिमाद नगरपालिकामा आउनुभएका शिक्षकहरुलाई प्राथमिकताको आधारमा विद्यालयमा नियुक्ति दिनुपर्नेमा सो नगरी सुगम ठाउँका विभिन्न विद्यालयहरुमा दरवन्दी सार्वजनिक नगरी लुकाई मनोमानी तरिकाले सरुवा गर्ने काम गर्नु जस्ता बुँदाहरु समावेश गरिएको छ ।

यस्तै भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले नगरपालिकाको गम्भीर ध्यानआकर्षण भएको बताएका छन् ।