भिमाद सञ्चार
तनहुँ २०८० बैशाख ४

दमौली । बैशाख ५ मंगलबार नेपाली काँग्रेसले तनहुँको सदरमुकाम दमौली स्थित अनसन चौतारीमा बृहत चुनावी सभाको आयोजना गरेको छ ।

काँग्रेसको ५ गते सदरमुकाम दमौलीमा चुनावी  सभा हुन लागेको हो । सभामा नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरु सम्बोधन गर्ने कार्यक्रम रहेको तनहुँ काँग्रेसले जनाएको छ ।  यसैगरी वैशाख ७ गते आँबुखैरेनी बजारमा सभा गर्ने प्रवक्ता हरि वाग्लेले जानकारी दिनुभयो । पाँच दलीय गठबन्धनले तनहुँ–१ को उपनिर्वाचनको लागि चुनावी सभा गर्ने भएको छ । बन्दीपुर गाउँपालिका–४ डुम्रे बजारमा वैशाख ६ गते सभा गर्ने भएको हो । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार रहेको उक्त क्षेत्रमा सभा गर्न लागिएको हो ।

चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको  छ ।