भिमाद सञ्चार

तनहुँ २०८० बैशाख ०९

पोखरा । गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभा बैठकमा पेस गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकार भएको छ ।

उनको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत परेको छ । अधिकारीलाई एमालेको २२ र राप्रपाका २ सांसदले मत दिएका हुन् ।

नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७  र स्वतन्त्र सांसदले विपक्षमा मत दिएका थिए ।

६० सदस्यीय प्रदेश सभामा सरकार बन्न ३१ मतको आवश्यक पर्दछ । एमाले संसदीय दलका नेता अधिकारीले माओवादी केन्द्र र राप्रपाको समर्थनमा गत पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भइ पुस २९ मा विश्वासको मतसमेत लिएका थिए ।

माओवादी केन्द्रले चैत १० मा सरकारलाई दिएको समर्थन फिर्तासहित मन्त्रीले राजीनामा दिएपछि अधिकारी सरकार अल्पमतमा परेको थियो ।

संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री अधिकारीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले शनिबार लिएका हुन् ।

उनले शुक्रबार मात्रै सरकारले गरेका १०० दिनका उपलब्धि सार्वजनिक गरेका थिए ।