भिमाद सञ्चार

तनहुँ २०८० जेष्ठ २३

व्यास नगरपालिका–३ तरकारी लाईन स्थित महम्मद फिरोज मासु पसलमा खसी भनेर बाख्री काटेर बिक्री गर्ने दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

भारत घर भई हाल व्यास ५ चापाघाटमा बस्दै आएका १९ बर्षीय ईस्तखार आलम र सोही स्थान निवासी ४० बर्षीय सनोज देवानलाई पक्राउ गरेको हो ।
बजार अनुगमनमा गएको टोलीले उक्त मासु पसल चेकजाँच गर्ने क्रममा खसीको मासु भनी बिक्री गर्नका लागि बाख्री काट्दै गरेको अवस्थामा फेला परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाबिरुद्व कालो बजार तथा केही अन्य सामाजिक अपराध सम्बन्धि कसुरमा मुद्वामा सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

मासु पसलहरुको गुणस्तर मापन गर्ने उद्वेश्यले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, व्यास नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र र गुणस्तर तथा नापतौल कार्यालय तनहुँको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो ।