भिमाद सञ्चार
तनहुँ २०८० जेष्ठ २७
भिमाद । भिमाद एफ. एम. १००.९ मेगाहर्जको आयोजनामा उद्घोषण तथा पत्रकारिता तालिम शनिबार  सम्पन्न भएको छ ।

भिमाद एफएम १००.९ मेगाहर्जको आयोजनामा १० दिनसम्म सञ्चालित तालिममा उदघोषण कला, पत्रकारिता, समाचार लेखन, सार्वजनिक कार्यक्रम सञ्चालन, सार्वजनिक भाषण, आम सञ्चार, प्रभावकारी सञ्चार कला लगायतका विषयमा सहजीकरण गरेका थिए ।

सञ्चालित तालीममा  २६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । पत्रकारिता मार्फत भिमाद नगरको समृद्वि सुशासन, पारदर्शिता र यहाँका पर्यटकीय सम्भावना बोकेका गन्तव्यहरुको प्रचार प्रसार, कृषि, खेलकुद, कला संस्कृतिको संरक्षणमा टेवा पुर्‍याउने साथै सहभागीहरु मध्येबाट  ५ जनालाई एफएममा जोडेर संगै सहकार्य गर्ने समेत  एफएमका कार्यसमितिका सचिव सुनिल श्रेष्ठले जानकारी गराए ।

तालिमको समापन समारोहमा बोल्दै भिमाद नगरपालिका वडा नम्बर ६ का वडा  अध्यक्ष श्यामसुन्दर जोशीले पत्रकारिता क्षेत्र सबैले विश्वास गर्ने पेशा भएको बताए । उनले पत्रकारिता पेशा खबरदारी गर्ने पेशा भएकोले पत्रकारले पत्रकारिता मार्फत समाजमा सुशासन कायम राख्न सहयोग पुर्याउनु पर्ने बताए। तालिममा सिकेका कुराहरुलाई प्रभावकारी रुपमा व्यवहारमा लागु गर्न सके मात्र तालिमको सार्थकता रहने उनको जोड थियो ।

 

सो अवसरमा प्रशिक्षार्थीले समापन कार्यक्रममा सबैले आफ्नो क्षमता प्रस्तुत गरेका थिए  । प्रस्तुतिको आधारमा ५ उत्कृष्ट प्रशिक्षार्थीहरु  चयन भएका छन्   ।
कार्यक्रम भिमाद नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्षको प्रमुख आतिथ्य र भिमाद एफएम १००.९ मेगाहर्जका कार्यसमितिका सचिव  सुनिल श्रेष्ठको अध्यक्षताम सम्पन्न भएको थियो ।