भिमाद सञ्चार

तनहुँ २०८० असार २७

जिल्लाको सदरमुकाम दमौली बजार क्षेत्रमा मापदण्ड बिपरीत संचालन गर्दै आएका सात वटा आयुर्वेद औषधी पसललाई मङ्गलबार सिल गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रैको संयोजत्वमा व्यास नगरपालिकाको सक्रियतामा बजार अनुगमन गरेको टोलीले मापदण्ड बिपरीत संचालन गर्दै आएका आयुर्वेद औषधी पसलमा सिल गरेको हो ।
अनुगमनका क्रममा चार वटामा आँशिक र तीन वटा आयुर्वेद औषधी पसलमा पुरै तालाबन्दी गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.रामप्रबोध मण्डलले जानकारी दिए ।

व्यास नगरपालिकाले मापदण्ड बिपरीत आयुर्वेद औषधी पसल संचालन गरेर नागरिकका ढाड सेक्दै आएका यस्ता पसलहरुको सक्रिय रुपमा अनुगमन गरी कानुनी दायरमा ल्याउन लागेको हो ।

अनुगमन कार्यलाई तीब्रता दिन थालेपछि मापदण्ड विपरीत संचालन गरेर नागरिकका ढाड सेक्दै आएका केही आयुर्वेदिक संचालकहरुको भागदौड नै मच्चिन थालेको बताइएको छ ।
अनुगमनको क्रममा व्यास–२ स्थित रहेको रुक्सल आयुर्वेद फर्माले स्थानिय तहमा दर्ता नगरेको र औषधी पसल दर्ता गरि बिरामी परिक्षण गर्ने गरेको पाईएपछि सिल गरिएको प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।  त्यस्तै आरोग्य फार्मेसीले स्थानिय तहमा दर्ता नगरेको,एलोपेथिक र होमोपेथिक दुबै किसिमका औषधी बिक्री गरेको, औषधी खुल्ला रूपमा भेटिएको, फार्मेसी मापदण्ड बिपरित सञ्चालनमा रहेको पाईएपछि सिल गरिएको छ ।
त्यसैगरी,व्यास–२ गणेशमान चोक स्थित रहेको अमोल आयुर्वेद स्वास्थ्य क्लिनिकले नविकरण नगरेको,क्लिनिक मापदण्ड अनुसार नरहेको र एलोपेथिक औषधी बिक्री गर्ने गरेको पाईएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

उक्त क्लिनिकलाई सिल गरि फार्मेसी मात्र संचालन गर्न दिईएको   छ भने एक सातामा पसल नविकरण गर्न निर्देशन दिईएको छ । व्यास होमियो फार्मेसीमा होमियो फार्मेसी दर्ता भएकोमा क्लिनिक तथा प्रयोगशाला समेत सञ्चालन भएको, ल्याव र क्लिनिक संचालन दर्ता नभएको पाईएको छ ।
उक्त  ल्याब र ओपिडिलाई पनि सिल गरिएको छ । आयुष होमियो फर्मामा होमियो प्याथिक पसल दर्ता चलानी नै नभएको, म्याद सकिएको औषधी फेला परेको,औषधी पसल दर्ता गरि क्लिनिकको रूपमा सञ्चालन गरेको पाईएको छ । उक्त पसल पनि सिल गरिएको छ ।

व्यास–२ सत्यवती माध्यमिक विद्यालय अगाडी रहेको स्पार्क दमौली अस्पताल स्थानिय तहमा दर्ता नै नभई संचालनमा रहेको पाईएको  छ ।
उक्त अस्पताल पनि सिल गरिएको छ । प्रकाश आयुर्वेदिक आयुर्वेदिक पसलमा दर्ता  गरि एलोपेथिक औषधी  बिक्री गर्ने गरेको, औषधी पसलमा क्लिनिकको सेवा सञ्चालन गरेको र चिकित्सक बिना अनाधिकृत व्यक्तिले बिरामी परिक्षण गरेको भेटिएको जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले बताइन् । उक्त पसलबाट एलोपेथिक औषधी बरामद समेत गरि सिल गरिएको छ ।