भिमाद सञ्चार

तनहुँ २०८० श्रावण २६

सञ्जय श्रेष्ठ ऋषिङ्ग तनहुँ

तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नं. ५ रुपटारमा निर्माण सम्पन्न भएको ज्वाला खोला मोटरेवल पुलको उद्घाटन सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार एक कार्यक्रमका पुलको उद्घाटन गरेका छ्न । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय पूर्वाधार विकास कार्यालय तनहूँद्वारा निर्मित २०७७ सालमा ३ करोड २५ लाखमा सम्झौता भएको सो पुल २ करोड ९६ लाखमा निर्धारित समयमा निर्माण सम्पन्न भएको हो । एति बिल्डर्स काठमाडौँले निर्धारित समयमा सम्झौता रकम भन्दा २५ लाख कम लागतमा सो पुलको निर्माण गरेको हो ।


कार्यक्रमका प्रमुख अथिति गण्डकी प्रदेशका प्रमुख सुरेन्द्रराज पाण्डेले शालिग्राम करिडोर गण्डकी प्रदेश सरकारको गौरवका आयोजना भएको र यसलाई देवघाटमा देखि सेती वेनि पर्वत हुँदै बूढीगण्डकी करिडोरमा जोडेर मुक्तिनाथ सम्म छिट्टै पुर्याउने बताए । कालीगण्डकी धार्मिक क्षेत्र भएकोले धार्मिक पर्यटन स्थलका रुपमा विकास गर्न र पोखरालाई नेपालको पर्यटनको केन्द्र पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न प्रदेश सरकार लागि परेको बताए ।
प्रदेश सरकारले यस आर्थिक वर्षमा मात्र ऋषिङ गाउँपालिका भित्रका भौतिक पूर्वाधार तथा सडकका लागि २२ करोड, विभिन्न खानेपानीका योजनाहरुका लागि २ करोड रुपैयाँ तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनका लागि १ करोड विभिन्न शीर्षकमा विनियोजन गरेको समेत जानकारी दिए । प्रदेशले कालिगण्डकी, मर्स्याङ्दी र त्रिशूली करिडोरको टारहरुमा सिंचाइका लागि बिभिन्न योजनाहरु राखेको बताए । टारहरुमा योजना संचालन गरि अर्कोपटक यसै ठाउँमा सिंचाईको कार्यक्रम उदघाटन गर्न आउने प्रतिबद्धता समेत पाण्डेले व्यक्त गरेका थिए ।


कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका कृषि मन्त्री महेन्द्रधवज जिसीले कालीगण्डकी आसपासका जति पनि तार हरुको व्यस्थापन र विकासका लागि आफू लागि परेको बताए । हाम्रो परम्परागत कृषि प्रणालीलाई व्यासायिक रूपमा अगाडि बढाउन सिंचाईको व्यवस्थापन गर्न र कृषिजन्य उत्पादन गर्ने कार्यक्रम ल्याउनेछौ उनले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री जितप्रकाश आलेले प्रदेश सभा सदस्यका रूपमा निर्वाचित गराई दिनुभएकोमा सम्पूर्णमा धन्यबाद व्यक्त गरेका थिए । आलेले ७० वर्ष अगाडि खोलिएको श्रुङ मार्ग, कृष्ण मार्गको स्तर सुधारका लागि हर सम्भव प्रयास गर्ने बताए । गण्डकी प्रदेशको महत्वपूर्ण गौरवको योजना सडक योजना भारतको कोरल जोड्ने र शालिग्राम करिडोर लगाएतका महत्वपूर्ण योजनाहरू सम्पन्न गर्न लागेको बताए । आर्थिक मामिला मन्त्री हुँदै गर्दा आफू नेपाली कांग्रेसको मात्रै मन्त्री नभएर समग्र गण्डकी प्रदेशकै मन्त्री भएको र योजना छनोट गर्दा आवश्यकताका हिसाबले प्राथमिकताका राखेर बजेट विनियोजन गरी गरिबी र पछौटेपन हटाउन लागि परेको बताए ।

कार्यक्रमका सभापति ऋषिङ्ग गाउँपालिकाका अध्यक्षले प्रदेशका मुख्यमन्त्री लगाएतका अन्य मन्त्रीज्यू हरुले आफूले प्रतिबद्धता जनाउनु भएको योजनाहरुलाई सम्पन्न गर्नुहुने मा आफू विश्वस्त रहेको बताए । ग्रामीण क्षेत्रलाई उत्पादन सँग जोड्नका लागि प्रदेश सरकार र स्थानिय सरकार तल्लिन्ताका साथ लागि परेको र सहकार्य गरेर अगाडि बढ्ने समेत बताए । प्रदेश संग सम्बधित रहेका विकास निर्माण र योजनाहरुको दर रेट स्थानिय निकायको दररेट सँग बाजिएको हुँदा यस्तर्फ पनि मूल्य समायोजनका लागि समेत प्रदेश सरकारको ध्यानकर्षण गराएका थिए । समग्र ऋषिङ्गको निम्तोलाई स्विकारेर आउनु भएकोमा सम्पुर्ण अतिथिहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा ऋषिङ्गको विकासका लागि प्रदेश सरकार सँग सँगै हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्ट, पूर्वाधार विकास कार्यालय तनहूँका प्रमुख दिनेश घिमिरे,नेपाली काँग्रेसका केन्द्रीय सदस्य नानु बास्तोला, नेपाली काँग्रेस तनहुँका सदस्य मोहन गिरी, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरणम वाग्ले, जिल्ला समन्वय समिति तनहुँका निवर्तमान सदस्य निल बहादुर थापा, भिमाद नगरपालिकाका प्रमुख दधिराम सुवेदी, घिरीङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा, , विभिन्न पार्टीका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि लगाएत स्थानियहरुको उलेख्य सहभागीता रहेको थियो ।