भिमाद सञ्चार

तनहुँ २०८० भाद्र ५

अमृत परियार

राष्ट्रिय युवा संघ नेपाल भिमाद–८ को आयोजनामा खुला ‘बी लेभल’ डबल पुरुष ब्याडमिण्टन प्रतियोगिता हुने भएको छ । युवा संघको स्थापना दिवसको अवसर पारेर ब्याडमिण्टन प्रतियोगिता आयोजना गरिएको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

प्रतियोगिता संयोजक शिव आलेका अनुसार खेलको माध्यमबाट युवाहरुलाई राजनीतिमा आकर्षण गर्न, नेतृत्व शक्ति बढाउन, सामाजिक रुपान्तरणप्रति जिम्मेवार बोध गराउन र दुव्र्यसन तथा कुलतबाट मुक्त गराउन प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता भाद्र ०८ र ९ गते भागर मगर समाजको कवर्ड हलमा हुनेछ ।

प्रतियोगिताको प्रथम पुरस्कार रु. २० हजार, द्धितीय पुरस्कार रु. १० र तृतीय पुरस्कार रु. ६ हजार रुपैयाँ राखिएको छ । टिम दर्ता शुल्क रु. २ हजार तोकिएको छ । तर, १७ देखि २२ बर्ष उमेर समुहका पहिला दर्ता गर्ने १० टिमलाई भने दर्ता निशुल्क हुने संयोजक आलेले बताए । उनले आयोजक युवा संघ भएपनि सवै संस्था तथा समुह सहभागी हुन सक्ने बताए । प्रतियोगितामा तनहुँ, कास्की, नवलपुर लगायतका छिमेकी जिल्लाहरुबाट गरी २५ टिम बढि सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको पुर्वमन्त्री एवं एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले उद्घाटन गर्ने भएका छन् । सो अवसरमा भिमाद नगरपालिका–८ मा रहेको विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रचारप्रसारसंगै अवलोकन तथा भ्रमण गराइनेछ । विशेषतः पिपलडाँडा हरिक पार्क राङरुङ, लाटी बाराही मन्दिर, वैध पोखरी सिम्ले, गणेश थान तथा छत्रे ढुङ्गा गणेशपुर, सिद्ध गुफा एवं शिव मन्दिर, ढोरबाराही मन्दिर लगायतका स्थानहरुको समेत प्रचारप्रसार गरिनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य उज्वल खनालले युवाहरुलाई विदेश पलायनबाट रोक्ने माध्यम खेलकुद मात्र भएकोे बताए । उनले खेल खेलेरै जीवन निर्वाह गर्ने वातावरण सरकारले बनाउने हो भने अहिलेको युवा विदेश पलायनको लहरलाई आधाले रोक्न सकिने दाबी गरे । त्यसका लागि सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउनु पर्ने भएपनि खेल क्षेत्रलाई महत्व नदिएको बताएका थिए ।

वडा नं ८ का वडाध्यक्ष अर्णबहादुर शाही (सुशील)ले युवाहरुलाई नेताले चुनावको बेलामा मात्र प्रयोग गर्ने गरेको बताए । युवा संघले राखेको यो कार्यक्रमले युवाहरुलाई नेतृत्व तहमा आउन सहयोग पु¥याउनुका साथै वडाको पर्यटन विकासमा चासो राखेको भन्दै खुसी व्यक्त गरे ।

युवा संघ भिमाद–८ का अध्यक्ष श्यामबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सन्तोष थापा, युवा संघका नेता हरि कुमाल सचिव नारायण भुजेल लगायतले बोलेका थिए ।