भिमाद सञ्चार

तनहुँ २०८० भाद्र १३

व्यास नगरपालिकाले बजार व्यवस्थित बनाउन मापदण्डविपरीत राखिएका ‘होर्डिङबोर्ड’ हटाउन सुरु गरेको छ । नगरपालिकाले दमौली बजारलाई व्यवस्थित बनाउने योजना अनुरुप नै विभिन्न ठाउँमा विज्ञापनका लागि राखिएका होडिङबोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट लगायतलाई नगरपालिकाले हटाउन सुरु गरेको हो ।
नगर प्रहरी शाखाका प्रमुख आशिष परियारका अनुसार सोमबार मात्रै तरकारी लाईन, सफासडक, मालपोत लाईन, वडा सत्यवति लाईन, भोर्लेटारचोक लगायत बजारको मुख्य बजार क्षेत्रको हटाएको छ । उनका अनुसार नगरपालिकाले तोकेको निश्चित ठाँउमा मात्र मापदण्ड अनुसारको बोर्ड भने राख्न पाइने छ । उनले भने,”बोर्ड राख्न पाईन्छ, तर नगरपालिका सँग सम्झौता गरेर नगरपालिकाले तोकेको निश्चित ठाँउमा मात्र राख्न पाईन्छ । ” साथै बजार क्षेत्रको सडकपेटीमा नियमविपरीत अव्यवस्थितरुपमा राखिएका व्यापारिक प्रयोजनका सामग्री हटाई व्यवस्थित गर्न आग्रह गरिएको उनले बताए । यसैगरि नगरपालिकाले इन्टरनेट सेवा प्रदायक सँग समन्वय गरि बजार भित्र रहेका अव्यवस्थित तारहरु पनि व्यवस्थित गर्न थालेको छ ।

विद्युतको पोलमा जथाभावी तार लगाउँदा आगलागीको जोखिम बढेको र सहर पनि कुरुप देखिएको भन्दै नगरपालिकाले इन्टरनेट सेवा प्रदायकलाई तार व्यवस्थित गर्न आग्रह गरेको थियो । जसअनुसार भदौ महिना भित्रमै दमौली बजार भित्रका अव्यवस्थित तारहरु पनि व्यवस्थित हुने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । उनले नगरपालिकालेको समन्वयमा तारहरु व्यवस्थित गर्न थालिएको बताए ।

उनले भने,‘इन्टरनेट र टिभी सेवा प्रदायकले आवश्यकता भन्दा बढी तार विद्युतको पोलमा झुड्याइदिन्छन्, शहर कुरुप मात्रै भएको छैन, कहिलेकाँही पोलमा आगलागीका घटना समेत भएका छन्,’ उनले अघि भने, ‘त्यसैले व्यवस्थित गर्न आग्रह गरेका थियौं, सोही अनुसार तारहरु व्यवस्थित गर्न थालिएको छ ।’