भिमाद सञ्चार
तनहुँ २०८० भाद्र २२
भिमाद – जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले देशभरका स्थानीय तह मार्फत सामान्य प्रशासन मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका हुन् । यसै विचमा भिमाद नगरपालिका भिमादमा कार्यरत कर्मचारीहरुले समेत ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाललाई ज्ञापन पत्र बुझाएका हुन् ।

प्रशासनिक संरचनामा संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा भन्ने विभेदकारी नीति निर्माण गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभेद गरेको उनीहरुको भनाई छ ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा, वृत्ति विकासको सुनिश्चितता नभएको र प्रस्तावित निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरुलाई निजामती परिभाषामा नसमेटिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

निजामती दिवशको दिन भाद्र २२ गते विरोध स्वरूप स्थानीय कर्मचारीको सेवा सुविधा सम्बन्धी व्यवस्था नभए सम्म निजामती सेवा दिवस नमनाउने निर्णयका साथै सम्बन्धित निकायको ध्यानाकर्षण सहित ९ बुँदे ज्ञापन पत्र बुझाएको भिमाद नगरपालिका अधिकृत अजय सुबेदिले दिनुभयो ।