भिमाद सञ्चार

तनहु २०८० असोज १०/अमृत परियार

भिमाद नगरपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित डेङ्गु लगायत अन्य किटजन्य रोगहरू सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार भिमाद नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिमादका प्रमुख डा. प्रशान्त मिश्र , डा. सबिन लम्सालले डेङ्गु रोगको परिभाषा , शापु ( seasonal Hyper Acute pan uvitis ) आँखा दुख्ने रोगको लक्षण, बच्ने उपाय, डेङ्गु रोगबाट बच्ने उपाय , लामखुट्टेले फूल पार्ने स्थान , डेङ्गुको रोकथाम , नियन्त्रण सम्बन्धी जानकारी गराएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले भिमाद नगरपालिकाले डेङ्गु परिक्षण किटको लागि पहल गरिरहेको बताएका छन् । डेङ्गु परिक्षण किटको अभाव भएको हुनाले समयमै आवश्यक किट उपलब्ध गराउन नसकेको उनले बताएका थिए ।

जतिसुकै लागतमा भएपनि किट ल्याएरै छाड्ने र जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउले सुवेदीले बताए । साथै उनले सम्पूर्ण नगरवासीहरुलाई डेङ्गु रोगबाट बच्नको लागि सम्पूर्ण उपायहरु अपनाउन आग्रह गरेका थिए ।

यस्तै भिमाद नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख टुकामणी सिग्देलले अब छिटै नै नगर भित्र रहेका विभिन्न टोल विकास संस्था, विद्यालय साथै भीडभाड हुने स्थानमा गई सचेतना , अभिमुखकरण कार्यक्रम गर्ने साथै “सर्च एण्ड डिष्ट्रोए ” कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । कार्यक्रममा भिमाद नगरपालिकाका जनप्रतिनिधि , इलाका प्रहरी कार्यालय भिमादका प्रमुख , स्वास्थ्यकर्मी , टोल विकास संस्था लागायतको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
भिमाद नगरपालिकामा हाल सम्म ५१ जना डेङ्गु सङ्क्रमित पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ । विशेषगरी बसपार्क लाईन
शान्तिनगरमा डेङ्गुको संक्रमण देखिएको शाखाले जनाएको छ ।