भिमाद सञ्चार

तनहुँ २०८० असोज १७ अमृत परियार
दुलेगौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँको दुलेगौंडामा क्षेत्रीय खुल्लासभा गर्ने भएको छ । पार्टीको नीति र कार्यक्रबारे जनतालाई जानकारी दिनुका साथै जनताको सुझाव संकलन गर्न पार्टीले आगामी सोमबार खुल्ला सभा गर्ने भएको हो ।
तनहुँको निर्वाचन क्षेत्र २ मा पहिलो पटक पार्टीले विशाल कार्यक्रम आयोजना गर्न लागेको दावि गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार पत्रकार सम्मेलन गरि खुल्लासभाको बारेमा जानकारी दिएको छ । शुक्लागण्डकी ७ दोभानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टीका क्षेत्रीय संयोजक कृष्णप्रसाद रिजालले ‘मिसन ८४’ लाई समेत लक्षित गरेर भेला आयोजना गरिएको बताए । ‘हाम्रो पार्टी नेपाली राजनीतिमा सकरात्मकतालाई प्राथमिकता दिएर अघि बढी रहेको छ ।’ उनले भने, ‘राजनीति मार्फत नै अराजकता र भ्रष्टचारलाई निर्मुल पार्न सकिन्छ भन्ने सन्देश दिनु हाम्रो लक्ष्य हो ।
कार्यक्रममा जिल्ला संयोजक विकास सिग्देलले रास्वपाले समानुपाति सहभागिको अवधारणालाई अंगिकार गरेको, भ्रष्टचार जन्य गतिविधी माथि निर्मम बनेको, पुर्ण लोकतान्त्रिक विधीलाई व्यवहारमा उतारेका कारण अन्य पार्टी भन्दा आफुहरु फरक रहेको दावि गरे । जिल्लाका सह संयोजक सुर्यमणी पौडेलले यो क्षेत्रमा पार्टीका गतिविधी चलायमान बनाएर सांगठनिक संरचना तयार पार्न आफुहरु क्रियाशिल रहेको जानकारी दिए ।
पार्टीले ‘मिसन ८४’ अन्तर्गत पशुपतिदेखि मुक्तिनाथसम्मको यात्रा सुरु गरेकाले सोही यात्रामा रहेका पार्टी सभापति रवि लामिछाने र प्रतिनिधी सभा सदस्य डा. स्वर्णिम वाग्लेले आमसभालाई सम्बोधन गर्ने कार्यक्रममा रहेको संजोजक रिजालले जानकारी दिए ।