भिमाद सञ्चार

तनहुँ २०८० असोज १८

जिल्लाको म्याग्दे गाउँपालिकाले दश शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण गरेको छ । म्याग्दे गाउँपालिका–४ मनहरीमा निर्माण गरेको अस्पतालको निर्माण कार्य अन्तिम चरणमा रहेको गाउँपालिका कार्यालयले जनाएको छ ।

रु.६ करोड पचास लाखको लागतमा साढे दुई ढलानको भवन निर्माण गरिएको इन्जिनियर शिव ज्ञावलीले जानकारी दिए ।
उक्त अस्पतालमा मेडिकल अधिकृत सहितको स्वास्थ्यकर्मीको दरबन्दी हुनेछ । छिट्टै संचालनमा ल्याउने तयारी भैरहेको उनले बताए ।
भवन निर्माण पश्चात नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । उक्त भवनको ऋषिशक्ति,होम निर्माण जेभीले निर्माणको जिम्मा पाएको छ ।
त्यसैगरी,जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयको प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

म्याग्दे गाउँपालिका–४ थर्पु बजार नजिक निर्माण गरिएको उक्त भवनको ८० प्रतिशत  बढी निर्माण कार्य सम्पन्न भैसकेको सो गाउँपालिका कार्यालयले जनाएको छ ।
भवनमा प्लाष्टर, रङरोगन लगायतका फिनिसिङ्ग र बिद्युत जडानको कार्य बाँकी रहेको गाउँपालिका इन्जिनियर ज्ञावलीले जानकारी दिए ।

विसं २०७७ चैत्र महिनामा सम्झौता गरी निर्माण कार्य अघि बढाइएको हो । निर्माणधीन उक्त भवनको क्षेत्रफल सात हजार दुई सय स्क्वायर मिटर रहेको छ ।
कोरोनाका कारण सम्झौता अनुरुप निर्माण कार्य हुन नसकेपछि पुन ः आठ महिनाको म्याद थप गरिएको हो । उक्त भवनको वल्र्डवाइड सुशासन जेभीले निर्माणको ठेक्का पाएको थियो ।

बहुबर्षीय योजना अन्र्तगत पहिलो चरणमा रु.सात करोडको लगानीमा दुई ढलान निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले जानकारी दिए ।  यही आउँदो मंङिसर मसान्तसम्ममा निर्माण सम्पन्न भएपछि सोही भवनबाट सेवा प्रवाह गर्ने योजना रहेको उनले बताए ।