भिमाद सञ्चार

तनहुँ २०८० असोज १८ अमृत परियार

भिमाद नगरपालिका ६ स्थित जनज्योति क्याम्पसमा आज डेङ्गु नियन्त्रण सम्बन्धी सचेतना तथा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । भिमाद नगरपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा डेङ्गु नियन्त्रण सम्बन्धी सचेतना तथा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको जनज्योति क्याम्पसका अतिरिक्त क्रियाकलाप समितिका संयोजक एवम् सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईले जानकारी दिएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र भिमादका प्रमुख डा. प्रशान्त मिश्रले कार्यक्रममा सहभागि प्राध्यापक तथा विद्यार्थीहरुलाई डेङ्गु रोग र शापु ( आँखा पाक्ने) रोग सम्बन्धी लक्षण, असर ,बच्ने उपाय , लामखुट्टेको वासस्थान, रोकथामको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख अतिथि भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीके भिमाद नगरपालिका जनताको स्वास्थ्यको विषयमा चिन्तित रहेको बताएका थिए । उनले भिमाद नगरपालिकाले अहिले डेङ्गु परिक्षण किट प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध गराएकाले जनताहरुलाई रोग पालेर नबस्न सुझाव दिएका छन् । उनले डेङ्गुको लक्षण देखिएमा तुरुन्त स्वास्थ केन्द्र गई उपचार गराउन आग्रह गरेका छन् ।

यस्तै भिमाद नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख टुकामणी सिग्देलले नगरपालिका भित्र डेङ्गु संक्रमण देखिनासाथ निरन्तर रुपमा विभिन्न टोल , स्थान र विद्यालयहरुमा गई सचेतना कार्यक्रम गर्दै आई रहेको बताएका थिए ।

जनज्योति क्याम्पसबाट शुरुवात भएको प्रभातफेरी क्याम्पसरोड , बसपार्कचोक , लखन चोक , रत्नचोक , कुमारचोक हुँदै पुरानो बजार पुगी पुनः क्याम्पस रोडमा फर्किई टुङ्गिएको क्याम्पस प्रमुख केशव राज काफ्लेले बताए । काफ्लेले जनज्योति क्याम्पसमा डेङ्गु रोगबाट बच्नका लागि विशेष सावधानी अपनाइएको र समाज सुधार र नागरिकहरुलाई सजक गराउनको लागि प्रभातफेरी कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।