भिमाद सञ्चार

तनहुँ २०८० मंसिर १३

अमृत श्रेष्ठ

मंसिर ७ गते देखि तनहुँको भिमाद न.पा ६ स्थित भिमाद रङ्गशालामा सुरु भएको भिमाद अर्ना कप फुटबल प्रतियोगिता २०८० को उपाधी लालिगुरास एशोसिएशनले हात पारेको छ ।

बुधबार भएको फाईनल खेलमा आयोजक युवा क्लब भिमादलाई क पेनाल्टी सुटआउटमा ४ – २ गोल अन्तरले पराजित गर्दै एल.जी एशोसिएशनले उपाधी आफ्नो पक्षमा पार्न सफल भएको हो । निर्धारित ९० मिनेटको समयमा दुबै टोलीबाट कुनै पनि गोल हुन नसके पछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टिमबाट थप गोल हुन नसके पछि खेल पेनाल्टीमा सुट आउटमा धकेलिएको थियो । पेनाल्टीमा लालिगुरासका गोल रक्षक आकाश रानाभाटले दुई बल उत्कृष्ट बचाउ गर्दै उपाधी आफ्नो टिमको पोल्टामा पारे ।

प्रतियोगिताको विजेता लालिगुरास एशोसिएशनले नगद रु २ लाख २२ हजार २ सय २२ रुपैयाँको साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बन्दै आयोजक भिमाद युथ क्लबले भने नगद रु. १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा उत्कृष्ट गोल रक्षक लालिगुरासका आकाश रानाभाट घोषित भए । यस्तै उत्कृष्ट खेलाडी युवा क्लब भिमादका दिपेश श्रेष्ठ, सर्वाधिक गोलकर्ता तनहुँ ११ का शन्त बहादुर गुरुङ, उत्कृष्ट फरवार्ड लालिगुरासका आशिष गुरुङ, उत्कृष्ट डिफेण्डर युवा क्लब भिमादका ध्रुव श्रेष्ठ तथा उत्कृष्ट मिड फिल्डर युवा क्लब भिमाद कै अनुराग जि.सी भए ।

समापन कार्यक्रमलाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आलेको प्रमुख आतिथ्यतामा सञ्चालन भएको समापन समारोहमा हजारौँको सङ्ख्यामा दर्शकहरुको उपस्थिती रहेको थियो । समापन समारोहलाई सम्बोधन गर्दै आर्थिक मामिला मन्त्री जित प्रकाश आलेले राज्यले स्थानीय मात्र नभई राष्ट्रिय खेलाडीहरुको समेत संरक्षण गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । पुर्व राष्ट्रिय स्टार खेलाडी बिमल घर्ती मगर कुनै बेला यही रङ्गशालामा खेलेको तर अहिले राज्यले उचित मुल्याङ्कन र व्यवस्थापन गर्न नसकेको कारण विदेशीएको नमिठो कुरालाई स्मरण गराउँदै आगामी दिनमा राष्ट्रका गहनाको रुपमा हेरिने खेलाडीहरुको संरक्षण सहित दृढ संकल्प लिएर अगाडी बढ्नुको विकल्प नरहेको पनि उहाँले बताउनु भयो ।

समापन समारोहका अध्यक्ष तथा भिमाद युवा क्लबका अध्यक्ष समेत रहेका ज्ञान बहादुर थापाले यस प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि स्थानीय खेलाडीहरुको प्रवर्द्धनका निमित्त यस्तै प्रतियोगिताहरुको आयोजना गर्ने प्रतिवद्धता सहित कार्यक्रमको समापन गर्नु भयो । कार्यक्रमको सञ्चालन युवा क्लब भिमादका सचिव सुनिल श्रेष्ठले गर्नु भएको थियो ।