भिमाद सञ्चार

तनहुँ २०८० पौष ०१

भिमाद । सातौं भिमाद मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० को उपाधी जनज्योति माध्यमिक विद्यालय भिमादले उचाल्न सफल भएको छ ।

९ स्वर्ण , ४ रजत र १ काश्य पदक सहित जनज्योति माध्यमिक विद्यालय भिमादले उपाधी उचाल्न सफल भएको कार्यक्रम संयोजक प्रेम बहादुर थापाले जानकारी दिनुभयो । यस्तै २ स्वर्ण , ८ रजत र ४ काश्य पदक सहित धर्म माध्यमिक विद्यालय भिमाद दृतिय हुन सफल भएको छ । साथै १ स्वर्ण , ४ रजत र २ काश्य पदक सहित अरुणोदय माविले तृतिय स्थान हासिल गर्न सफल भएको छ । सो अवसरमा आयोजित छात्र भलिबल प्रतियोगितामा जनज्योति मावि भिमाद प्रथम भएका छन् । जनज्योति माध्यमिक विद्यालय र बुचाखानी माध्यमिक विद्यालय बिच भएको फाईनल खेलमा ३-१ सेटले बुचाखानी माध्यमिक विद्यालयलाई पराजित गर्दै जनज्योति मावि प्रथम भएको हो । यस्तै सिद्धार्थ माध्यमिक विद्यालय तृतिय भएका छन् । उपाधि उचाल्ने दाउमा रहेको अमर भूपू सैनिक इङ्लिस स्कुल खेलमा सहभागी नभए पछि सिद्धार्थ माध्यमिक विद्यालय स्वतः तृतिय भएका थिए ।

शनिवार भएको सेमी फाइनल खेलमा अमर भूपू सैनिक इङ्लिस स्कुलले बुचाखानी माविलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । तर बुचाखानी माविले प्रोटेस्ट हालेपछि अमर भूपू पछि धकेलिएको थियो । यस्तै छात्रा तर्फको भलिबल खेलमा धर्म माध्यमिक विद्यालय प्रथम , बाल विकास माध्यमिक विद्यालय दृतिय र अरुणोदय माध्यमिक विद्यालय तृतिय भएका छन् । छात्र र छात्रा भलिबल प्रतियोगिता प्रथम , दृत्तिय र तृतिय हुने समुहले क्रमश कर सहित २५ हजार , १५ हजार र १० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

जनज्योति माध्यमिक विद्यालयले अहिले सम्म ४ चोटि र मंगलाेदय माध्यमिक विद्यालयले १ चोटी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी उचाल्न सफल भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका संयोजक प्रेम बहादुर थापाले जानकारी दिनुभयो । प्रतियोगिता ट्रयाक इभेन्ट तर्फ १०० मि, २०० मि , ४०० मि , ८०० मि , १५०० मि ३००० मि दौड , ४०० मि रिले , १६०० मि रिले दौड भएको थियो । फिल्ड इभेन्ट तर्फ लङ्जम्प , हाईजम्प , ट्रिपलजम्प , सटपुट र ज्याभिल थ्रो प्रतियोगिता भएको थियो । प्रतियोगीतामा भिमाद नगरपालिका भित्रका १८ वटा विद्यालयको सहभागीता रहेको थियो।