भिमाद सञ्चार

तनहुँ २०८० फाल्गुन ७ सोमबार

अमृत परियार

भिमाद । युवा क्लब भिमादद्वारा आयोजित भिमाद नगरपालिका स्तरिय अण्डर १६ फुटबल प्रतियोगिताको उपाधि अमर भूपू सैनिक इङ्लिस बोर्डिङ स्कुलले जित्न सफल भएको छ ।

आज अमर भूपू सैनिक इङ्लिस बोर्डिङ स्कुल र जनज्योति माध्यमिक विद्यालय बिच भएको फाइनमा खेलमा ३-१ गोल अन्तरले जनज्योति माध्यमिक विद्यालयलाई पराजित गर्दै अमर भूपूले उपाधी उचाल्न सफल भएको युवा क्लब भिमादले जनाएको छ । यस्तै सो अवसरमा भिम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले तृतिय स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा प्रथम , दृतिय र तृतिय हुने टिमले क्रमश नगद रु १५ हजार , १० हजार र ५ हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
प्रतियोगितामा अमर भूपू सैनिक इङ्लिस बोर्डिङ स्कुलका रमित परियार वेस्ट प्लेयर, रिचन राई वेस्ट डिफेन्डर, दिप्सन राना हाई स्कोरर , विपन सिंजाली वेस्ट किपर र जनज्योति माविका आशिष थापा वेस्ट मिडफिल्डर घोषित भएका थिए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई बधाई दिँदै कार्यक्रमका प्रमुख अतिथि भिमाद नगरपालिका वडा नं ६ वडा अध्यक्ष श्याम सुन्दर जोशीले नविन खेलाडिहरूको प्रस्तुति देखेर आफू निकै हर्षित भएको बताएका छन् । जोशीले खेलकुदको माध्यमबाट शारीरिक तन्दुरुस्ती साथै अनुशासन , ज्ञान, कला ,सामाजिक शिक्षा साथै शिप सिक्दै जान सकिने बताएका थिए । युवा क्लब भिमादले विभिन्न समयमा राष्ट्रिय स्तरको प्रतियोगिताहरुको आयोजना गर्दै आएकाले भिमादको चिनारी बढ्दै गई रहेको बताएका थिए ।

यस्तै यस प्रतियोगिताबाट ६० जना खेलाडीहरु चयन भएको र उनीहरुलाई १ महिना खेलकुद सम्बन्धी तालिम प्रदान गरिने खेलाडी छनोट समितिका संयोजक नविन श्रेष्ठले बताए ।
युवा क्लब भिमादले आगामी दिनहरुमा थप रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै जाने क्लबका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिए । फाल्गुण ४ गतेबाट शुरु भएको खेलमा ६ समुहको सहभागिता रहेको थियो ।