भिमाद सञ्चार

तनहुँ २०८० फाल्गुण १६, अमृत परियार

भिमाद । भिमाद नगरपालिका भित्रका ९ महिना देखि ५ वर्ष मुनिका २ हजार २ सय २४ जना बालबालिकाहरुलाई दादुरा – रूवेलाको खोप दिइने भएको छ । भिमाद नगरपालिकाद्वारा आज आयोजित दादुरा-रुवेला सम्बन्धी अभिमुखिकरण कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो । अभिमुखीकरण कार्यक्रमलाई स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदिप कडेलले सहजिकरण गरेका थिए । कार्यक्रमलाई सहजिकरण गर्दै कडेलले तनहुँमा दुई चरणमा खोप अभियान सन्चालन हुने बताएका छन् । पहिलो चरणमा फागुन १५ देखी १९ गतेसम्म व्यास नपा, देवघाट, बन्दिपुर, आबुँखैरेनी र म्याग्दे गाउँपालिकामा सन्चालन भइरहेको र फाल्गुण २२ गते देखी २७ गतेसम्म भिमाद नपा, भानु र शुक्लागण्डकी नपा तथा ऋषिङ र घिरिङ गाउँपालिकामा सन्चालन हुने जानकारी दिए।

खोप अभियानका लागि तनहुँका २३८ खोप केन्द्रमा २३८ स्वास्थ्यकर्मी र ४६६ स्वंयसेवक तथा प्रत्येक पालिकामा एक जना चिकित्सक परिचालन हुनेछन् । दुबै चरणमा गरेर तनहुँका ९ महिनादेखी ५ वर्ष मुनीका २० हजार ४ सय ८ बालबालिकालाई दादुरा र रुबेलाको खोप लगाईने उनले बताएका छन् ।

यस्तै २२ गते देखि २७ गते सम्म सन्चालन हुने खोप अभियानमा भिमाद नगरपालिकाका ९ वटा वडा कार्यालय भित्र २५ वटा खोप केन्द्र तोकिएको भिमाद नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख टुकामणी सिग्देलले बताए । खोप अभियानका लागि स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम दिइएको साथै खोप कार्यक्रम प्रभावकारी बनाउनको लागि सबै खोप केन्द्रमा सम्पर्क व्यक्ति तोकिएको उनले बताएका थिए ।

कार्यक्रममा भिमाद नगरपालिकाका नगर प्रमुख एवम् खोप समन्वय समिति संयोजक दधिराज सुवेदीले खोप अभियानबाट कुनै पनि बालबालिकाहरुलाई नछुटाउन अनुरोध गरेका छन् । उनले अभिभावकहरुलाई कतिपनि हेलच्यक्र्याई नगरि समयमै आफ्ना बालबालिकाहरुलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउनका लागि आग्रह गरेका हुन् ।

अभिमुखीकरण कार्यक्रममा भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनाल , शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख पदमराज आचार्य , १ देखि ९ वडाका वडाध्यक्ष , स्वास्थ्यकर्मी , विद्यालयका प्रधानाध्यापक, लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।