भिमाद सञ्चार

तनहुँ २०८० फल्गुन २०, अमृत परियार

भिमाद ।जनज्योति क्याम्पस भिमादमा गत मंसिर २६ गते बाट सन्चालित ३ महिना (३९० घण्टे) मन्टेश्वरी तालिम सम्पन्न भएको छ । व्यवसायिक तथा सिप विकास केन्द्र पोखराको आयोजना र भिमाद नगरपालिकाको समन्यवनमा सन्चालित मन्टेश्वरी तालिम आज सम्पन्न भएको हो ।

तालिमको समापन सत्रमा बोल्दै कार्यक्रमको प्रमुख अतिथि भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनालले तालिमले प्रशिक्षार्थीलाई धेरै सिर्जनशील बनाएको बताएकी छन् । उनले मन्टेश्वरी तालिम बालबालिकासँग सम्बन्धित हुने भएकाले बालबालिकामा सकारात्मक सोच विकास गर्नु आफैमा चुनौती भएकाले सन्तुलन कायम गर्दै बाल मनोवैज्ञानिक ढंग र सामाजिक तथा व्यवहारिक मूल्य मान्यताका आधारमा ज्ञान प्रदान गर्नु आजको आवश्यकता रहेको बताएकी थिइन् ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै जनज्योति क्याम्पस भिमादका प्रमुख केशव राज काफ्लेले तालिममा लिएको सिपले मात्र तालिम सम्पन्न नहुने बताएका छन् । उनले सिकेको सिपलाई व्यवहारमा उतार्न सके मात्र सिकाइले पूर्णता पाउने बताएका छन् । साना बालबालिकाहरुको सिकाईको विन्दु नै मन्टेश्वरी हुने भएकाले तल्लो तह बाटै व्यावहारिक ज्ञान र शिक्षा प्रदान गर्नु पर्ने बताएका छन् । नेपालमा उमेरगत रुपमा अध्यापन गराउने पाठ्यक्रम भए पनि शिक्षकहरूलाई व्यावहारिक ज्ञानको अभाव उनले बताएका थिए ।

यस्तै तालिमकी प्रशिक्षक कुसुम रखाली थापाले बालबालिकालाई अध्यापन कला विकास गर्न शिक्षक स्वयम् अग्रसर र सिर्जनशील हुनु पर्ने बताएकी थिइन् । बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सैद्धान्तिक रूपमा भन्दा पनि व्यवहारिक र मनोरञ्जात्मक तरिकाले शिक्षण गराउनु पर्ने उनले बताइन् ।

मन्टेश्वरी तालिमले बालबालिकालाई कसरी अध्यापन गराउने, शौक्षिक सामग्रीको प्रयोग कसरी गर्ने/गराउने, के-के समाग्री आवश्यकता पर्छ, कुन अक्षर कुुन सामग्रीको रुपमा प्रस्तुत गर्ने र बालबालिकालाई कसरी अध्यापन गराउने विषयमा धेरै कुरा सिक्न पाएको प्रशिक्षार्थीहरुले बताएका थिए ।

कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभाध्यक्ष व्यवसायीक तालिम तथा सिप विकास केन्द्र पोखराका प्रमुख लक्ष्मीभद्र वाग्लेले बेरोजगार युवाहरुलाई सिर्जनशील र रोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले तालिमको आयोजना गरेको बताएका थिए । उनले प्रशिक्षार्थीहरुलाई प्रभावकारी र इमान्दार पूर्वक तालिमबाट सिकेको सीपलाई शिक्षण पेशा साथै व्यावहारिक जीवनमा लागू गर्न आग्रह गरेका थिए ।

वाग्लेले व्यवसायिक तथा सिप विकास केन्द्र पोखराले आगामी दिनमा समेत यस्तै व्यावहारिक तालिमको आयोजना गर्दै युवाहरुलाई स्वरोजगार बनाउँदै लैजाने योजनामा रहेको बताएका थिए ।
मंसिर २६ गतेबाट फाल्गुण १६ गते सम्म सन्चालन भएको तालिममा २० जनाको सहभागीता रहेको थियो ।