भिमाद सञ्चार

तनहुँ २०८० फाल्गुन २९ अशोक बिश्वकर्मा

दुलेगौँडा । विश्वकर्मा समाज दुलेगौँडाले समाजसेवी सिताराम सुनार र भरत लामगादेलाई सम्मान गरेको छ । समाजको भौतिक संरचना निर्माण मा महत्वपूर्ण योगदान पुर्याएको भन्दै हाल अमेरिका मा बसोबास गर्दै आएका दुलेगौँडाका सुनारलाइ दोसल्ला र सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

अमेरिकाको वाल्टिमोरमा बसेर नेपाली समाजको बिकासमा टेवा पुर्याएका सुनारले बिश्वकर्मा समाजको भवन निर्माण गर्न २ लाख बढि आर्थिक सहयोग उपलब्ध गराएका थिए । शुक्लागण्डकी ४ स्थित पुलचोकमा रहेको समाज भवनमा आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सुनारले उपेक्षित समुदायको बिकास गर्न दलित समुदायको एकता अपरिहार्य रहेको दाबी गरे । उनले दलित समुदाय सामाजिक, राजनितिक र शैक्षिक क्षेत्रमा पछि परेको भन्दै निर्णायक तहमा पहुच स्थापित गर्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका पुर्व कार्यपालिका सदस्य भरत लामगादेलाई समाज निर्माण मा अतुलनिय योगदान पुर्याएका कारण सम्मान गरिएको समाजका अध्यक्ष बाबुराम सुनारले बताए । समाजको सचिव समेत रहेका लामगादेले आफ्नो पहलमा दुलेगौँडा कोत्रे क्षेत्रमा रहेका बिश्वकर्मा समुदायका सदस्यहरुलाई समेटेर समाजलाई गतिशिल बनाएका थिए ।

५६ घर परिवार संगठित रहेको समाजले समुदायको बिकास गर्न पूर्वाधार सङगै मानवीय क्षेत्रमा बिभिन्न कार्यहरु गर्दै आएको उपाध्यक्ष प्रेमबहादुर सुनारले जानकारी दिए ।