भिमाद सञ्चार

तनहुँ २०८० चैत्र १३  अमृत परियार

भिमाद ।राष्ट्रिय युवा संघ भिमाद नगर कमिटीले अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पछिल्लो समय भिमाद नगरपालिका भित्र सक्रिय रुपमा सामाजिक र रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको राष्ट्रिय युवा संघले चैत्र १५ देखि १८ गतेसम्म भलिबल प्रतियोगिताको आयोजना गरेको राष्ट्रिय युवा संघ भिमादले जनाएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा विपन्न परिवारको घर निर्माण सहयोगार्थ , खेलकुद क्षेत्रको विकास, खेल पर्यटनको विकास साथै भिमादको चिनारीलाई उजागर गर्ने उद्देश्य सहित प्रतियोगिताको आयोजना गरेको राष्ट्रिय युवा संघ भिमादका अध्यक्ष बुद्धि बहादुर मल्ल (विजय) ले बताए । यस्तै प्रतियोगिताका कार्यक्रम संयोजक शिव आलेले सो अवसरमा भिमाद नगरपालिका साथै आसपासका म्याग्दे , ऋषिङ्ग , घिरिङ्ग हरिनाश गाउँपालिका र शुक्लागण्डकी, चापाकोट नगरपालिका भित्रका वडाहरू खेलमा सहभागी हुन पाउने बताएका छन् ।

साथै सो अवसरमा संघले भिमाद नगरपालिकाबाट उदाएका खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए । भिमाद रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको नेकपा एमालेका स्थायी कमिटी सदस्य, गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री किरण गुरुङ्गले उत्घाटन गर्ने कार्यक्रम तय भएको आलेले बताएका थिए।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय र सान्त्वना स्थान हासिल गर्ने समुहले क्रमश ७० हजार , ४० हजार , २० हजार र १० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएका छन्। यस्तै प्रतियोगितामा विभिन्न विधामा समेत पुरस्कारको व्यवस्था रहेको आयोजकले बताएका छन् । राष्ट्रिय युवा संघ यसअघि भिमाद नगरपालिका वडा नं २ निवासी रेश बहादुर कुमालको घर निर्माण गरिदिएको थियो । भने हाल भिमाद नगरपालिका वडा नं ३ खेक्रेटारका देव बहादुर कुमालको घर बनाइरहेको छ ।

यस्तै प्रतियोगिताबाट सङ्कलित रकमबाट विपन्न परिवारहरुको आवास निर्माण गर्ने संघले बताएको छ ।
आजको पत्रकार सम्मेलन कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य दिना गोतामे नेकपा एमाले भिमादका अध्यक्ष इमान बहादुर थापा, नेकपा एमाले भिमादका उपाध्यक्ष चतुर्भुज सुवेदी लगायतको उपस्थिती रहेको थियो।