भिमाद सञ्चार

तनहुँ २०८१ असार २२

भिमाद– निरन्तर ५ घन्टाको प्रयास पछि डुबानमा परेका भिमाद नपा ६ पुरानो स्कुलमा एकै परिवरका ३ जनाको उद्धार गरिएको छ ।

गए राती देखीको अविरल वर्षाका कारण पुरानो स्कुल नजिकैको बुडुवा खोला बढे संगै एक घर डुबानमा परेको थियो ।

शनिबार दिनको करिब १२ बजेको आसपासमा खोलाको सतह बढ्दा ३८ बर्षका तिलक तामाङ्ग, २९ बर्षकी सिमा तामाङ्ग र ४ बर्षकी छोरी यस्तर तामाङ्ग सहित एकै परिवारका बाबा,आमा र छोरी गरि तिनै जना फसेका थिए । घर डुवानमा पर्न साथै ईलाका प्रहरी कार्यालय भिमादलाई खबर गराएको स्थानीयले जानकारी दिए ।

भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुबेदी, ईलाका प्रहरी कार्यलयका प्रमुख उदयराज पौडेल , श्री नं. ३ राजदल गणका विपद् ब्यवस्थापन रेस्क्यु १/२६ नार्फी सहायक सेनानी रामशरण भणडारीको कमान्डमा खटिएको टिम र स्थानीयको लामो प्रयास पछि ५ बजे एक बालिका सहित तीन जना परिवारलाई सकुशल उद्दार गरिएको हो ।

उद्दार पश्चात् आर्मीको टोलिले उक्त परिवारलाई ऋषिङ्ग गाउपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठलाई जिम्मा लगाएका छन् ।

भिमाद, ऋषिङ्ग र घिरिङ्ग जोड्ने श्रृङ्गपथ अन्तर्गत मालेबगर पुरानो स्कुल नजिकैको बुडुवा खोलामा समयमै पक्की पुल नबन्ने हो भने यस्ता समस्या बारम्बार निम्तिने स्थानीयले बताएका छन् ।